डा. सन्दुक रुइत र बेलायती अर्बपति कोहलीले र विश्वका सोह्र देशबाट अन्धोपन हटाउन संयुक्त फाउण्डेसन निर्माण

काठमाडौं ( जीएनएन ) -अन्धोपन हटाउन सक्रिय नेपालका डा. सन्दुक रुइत र यस्तै अभियानमा लागेका भारतीय मूलका बेलायती अर्बपति तेज कोहलीबीच सहकार्य हुने भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. रुइत र बेलायती अर्बपति कोहलीले विश्वका सोह्र देशबाट अन्धोपन हटाउन संयुक्त फाउण्डेसन नै बनाएका छन् । यसैसाता घोषणा गरिएको डा. सन्दुक रुइत–तेज कोहली फाउन्डेसनले नेपालसहित दक्षिण एसिया र अन्य मुलुकका नागरिकहरुमा रहेको अन्धोपन हटाउन काम गर्ने छ ।

डा. रुइतका अनुसार फाउण्डेसनले नेपालसहित भारत, इन्डोनेसिया, म्यानमार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवान्डा, तान्जानिया, लेबनान, भूटान, इराक, घाना, इथियोपिया, कम्बोडिया, सिरियालगायतका मुलुकमा अन्धोपन निवारणका लागि काम गर्ने छ ।

तिलगंगा आँखा अस्पताल दक्षिण एसियाकै उत्कृष्ट आँखा अस्पतालमा पर्छ । कोहलीसँगको सहकार्यले यहाँबाट उपलब्ध गराउने सेवालाई संसारभरका नागरिकको पहुँचमा पुर्याउन सहयोग मिलेको रुइतले बताए । फाउण्डेसनले मोतिबिन्दुबाट दृष्टि गुमाएका विश्वका दश लाख मानिसमा दृष्टि फर्काउने लक्ष राखेको छ ।

बेलायती अर्बपति कोहलीले डा. रुइतसँगको सहकार्यमा मोतीबिन्दुबाट दृष्टिविहीन बनेका विश्वभरका १० लाख मानिसलाई सेवा पुर्याउने लक्ष्य राखिएको बताए । फाउन्डेसनले सन् २०२६ भित्रै चार लाख मानिसको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ ।

पहिलो दुई वर्षमा मात्रै डेढ लाख मोतीबिन्दु शल्यक्रिया गरिने पनि फाउन्डेसनले जनाएको छ । यो कार्यक्रमअन्तर्गत नेपालको लुम्बिनी, सोलुखुम्बु, गेटा आँखा अस्पताल धनगढी, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, राप्ती आँखा अस्पताल, दाङ, फत्तेवाल आँखा अस्पताल बाँके, जानकी आँखा अस्पताल जनकपुर र सुर्खेत आँखा अस्पतालमा गरी दुई हजारजनाको शल्यक्रिया भइसकेको जनाइएको छ ।

‘फाउण्डेसनले विशेषगरी कमजोर आर्थिक अवस्था भएका मानिसहरुलाई सहयोग गर्ने छ । धनी र गरिबबीच उपचारमा हुने विभेद अन्त्य गर्ने फाउण्डेसनको लक्ष्य रहेको छ ।

हाल विश्वका नौ करोड मानिसहरुमा मोतीबिन्दुको समस्या रहेको अनुमान छ । ती मध्ये दुई तिहाइ मानिस गरिब देशमा बसोवास गर्छन् । मोतीबिन्दुको शल्यक्रियामा पहुँच नभएको समुदायसम्म कार्यक्रम विस्तार गरिने कोहलीले बताए ।

Please follow and like us: