एनआरएन नेपाल डेभलपमेन्ट फण्ड को औपचारिक घोषणा

काठमाडौं ( जीएनएन) — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा स्थापना गरिएको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ (एनडीएफ) को औपचारिक घोषणा गरिएको छ ।

सोमबार अपरान्ह अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरी फण्डको घोषणा गरिएको हो । फण्ड तत्काल दश अर्ब रुपियाँको हुने छ । यो कोष विस्तारै वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ । सरकारको पाँच प्रतिशत लगानी हुने यो कोषमा गैर आवासीय नेपालीहरुले दश प्रतिशत लगानी गर्ने र बाँकी ८५ प्रतिशत लगानी साधारण शेयर निष्काशन (आइपीओ) जारी गरी पूर्ति गरिने छ ।

एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार छिट्टै आइपीओ जारी गरिने छ । संघले कोष सञ्चालन समितिको अध्यक्षमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई चयन गरेको छ भने कोषको प्रमुख कार्यकारी अधिकृतमा बैंकर अनलराज भट्टराईलाई नियुक्त गरेको छ । सन् २००७ मै डेभलपमेन्ट फण्डको अवधारणा आएपनि सन् २०१८ मा पूर्वअध्यक्ष भवन भट्ट नेतृत्वको समितिले यसलाई अगाडि बढाएको थियो । लामो समयको प्रयासपछि वर्तमान अध्यक्ष कुमार पन्त नेतृत्वको समितिले गत महिना कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी ऐन अन्तर्गत एनआरएन नेपाल डेभलपमेन्ट फण्ड नामक कम्पनी दर्ता गराएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष पन्तले दश अर्ब राशी प्रारम्भिक मात्रै भएको बताउँदै यसलाई पचासौं अर्बको राशीमा विस्तार गर्ने लक्ष्य रहेको बताए । त्यस्तै, फण्डका अध्यक्ष एवम् संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मुलुक सम्पन्न नभई कुनै व्यक्तिमात्रै सम्पन्न हुनुले अर्थ नराख्ने महशुस गर्दै नेपाल डेभलपमेन्ट फण्डको स्थापना गरिएको बताए । ‘

यसमा सामूहिक लगानीको खाँचो छ,’ उनले भने , ‘यो त्यसैको शुरुवात हो ।’ महतोले फण्डमार्फत विदेशमा छरिएका नेपालीहरुको पूँजी मात्रै नभई प्रविधि, सुशासन र पारदर्शिता पनि नेपाल भित्रिने बताए । विदेशी लगानी पनि ल्याउनुस् : अर्थमन्त्री पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही कम्पनीमार्फत विदेशी लगानीकर्तालाई पनि नेपालमा लगानीका लागि आकर्षित गर्न आग्रह गरे । ‘गैरआवासीय नेपालीहरुको छरिएको पूँजी ल्याउने मात्रै नभई अरु विदेशी पूँजी भित्र्याउने काममा सहयोगी भूमिका निर्वाह गरिदिनुस्, मेरो आग्रह छ,’ उनले भने ‘नेपाल लगानीका लागि अनुकूल छ भन्ने सन्देश पनि संसारभर लगिदिनुस् ।’ अर्थमन्त्री पौडेलले जुन प्रतिफलको अपेक्षासहित सरकारले सहयोग गरेको छ, त्यसलाई पूरा हुने गरी काम गर्न सुझाव पनि दिए ।

अर्थमन्त्री पौडेलले नेपाल लगानीका लागि अनुकूल बन्दै गएको भन्दै बैंकिङ प्रणालीबाट आउने वैध सम्पत्ति लगानी गर्न कसैले डराउनु नपर्ने स्पष्ट पारे । ‘ कालो धन हुनु भएन, बैंकिङ प्रणाली भन्दा बहिरको हुनु भएन र हाम्रो आवश्यकताका आयोजनामा लगानी हुनुपर्यो,’ उनले भने । उनले कानुनी, नीतिगत र व्यावहारिक रुपमा नै नेपाललाई लगानीमैत्री बनाउन सरकार तत्पर रहेको पनि बताए । त्यस्तै, अर्थसचिव शिशिरकुमार ढुंगानाले परम्परागत लगानीका क्षेत्र भन्दा बाहेक नयाँ क्षेत्रको खोजी गरेर लगानी गर्न सुझाव दिए । सरकारका तर्फबाट सहजीकरण हुने भन्दै उनले सरकारबाट समस्या हुन्छ कि भनेर नसोच्न आग्रह गरे ।

त्यस्तै, राजश्व सचिव रामशरण पुडासैनीले मुुलुकको वर्तमान आवश्यकता भनेको आर्थिक वृद्धि र रोजगारी सिर्जना हो भन्दै त्यसै क्षेत्रमा लगानी गर्न सुझाव दिए । उनले पूर्वाधार, कृषि र पर्यटन क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे ।

पत्रकार सम्मेलनमा सहभागी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गैरआवासीय नेपालीहरुका तर्फबाट हुने लगानीमा सहयोग गर्न राष्ट्र बैंकले सहयोगी भूमिका निर्वाह गर्ने स्पष्ट पारे । कार्यक्रममा एनआरएनएका केन्द्रिय सल्लाहकार कुल आचार्य लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो।

Please follow and like us: