राजकुमार फिलिपको अन्त्येष्टि सम्पन्न

लन्डन ( जीएनएन )- गत शुक्रवार ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्त्येष्टि सम्पन्न भएको छ । विन्डसर क्यासलमा आयोजित एक भावपूर्ण समारोहमा महारानीले आफ्ना प्रिय पतिलाई अन्तिम बिदाई गरिन् ।

महारानी र राज परिवारका सदस्यहरू प्रिन्स फिलिपको अन्त्येष्टिका लागि भेला भएक थिए । कोरोना महामारी र लकडाउनको नियमलाई ध्यानमा राखेर नजिकका परिवार र साथीहरूको सानो समूह सेन्ट जर्ज चैपलमा भेला भएका थिए ।

महारानीले अनुहारमा मास्क तथा कालो पहिरन लगाएकी थिइन् । आठ दिन अघि अप्रिल ९ मा ड्युक अफ एडिनबराको मृत्यु भएको थियो । विन्डसर कासलको सेन्ट जर्ज चैपलमा अपरान्ह ३ बजे एक मिनेट मौन धारण सहित भएको अन्त्येष्टि समारोहको बीबीसी लगायत विश्वका अधिकांश मिडियाले प्रत्यक्ष प्रसारण गरेका थिए ।

राजकुमार फिलिपले मृत्यु अघि आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न र आफ्नो शवपेटिकालाई सर्वसाधारणले हेर्ने गरी समेत नराख्न अनुरोध गरेको बीबीसीले जनाएको छ । त्यसै अनुरुप उनको शवलाई विन्डसर कासलस्थित प्राइभेट च्यापलमा राखिएको थियो ।

शनिवार राजकुमार फिलिपको शवपेटिकालाई निजी च्यापलबाट विन्ड्सर कासलको राजकीय प्रवेशद्वारमा सारिएको थियो । सेन्ट जोर्जेज् च्यापलसम्मको छोटो मार्गबाट ड्यूकको शवलाई उनी आफैले परिमार्जनसहित डिजाइन गर्न सघाएको ल्यान्ड रोभर कारमा राखेर लगिएको थियो । ड्यूकको मर्यादाअनुसार ढाकिएको उनको शवपेटिका माथि माल्यार्पणका लागि पुष्पगुच्छा, ड्यूकको जलसेनामा कार्यरत हुँदा उनको टोपी र खड्ग राखिएको थियो । विन्ड्सरका डीन र आर्चबिशप अफ क्यान्टबरी पनि त्यहाँ सहभागी भएका थिए ।

अन्तिम संस्कारमा राजपरिवारका सदस्यहरू मात्रै च्यापलमा प्रवेश गरेका थिए भने शवयात्रामा सहभागी अरू व्यक्ति बाहिरै बसेका थिए । च्यापलभित्र अन्तिम संस्कारको समारोह पछि शवपेटिकालाई क्वाईरमा रहेको क्याटाफ्लेक भनिने संरचनामा राखिएको थियो । औपचारिक रूपमा गरिएको ड्यूकको अन्तिम संस्कार राजकीय थिएन ।

समारोहपछि ड्यूकलाई रोयल भल्टमा समाधिस्थ गरियो । ब्रिटेनमा राजकुमार फिलिपको अन्त्येष्टि संगै राष्ट्रिय शोकको अवधि समाप्त भएको छ, तर राजपरिवारले दुई साता शोक मनाउनेछ। परिवारका सदस्यहरू उपयुक्तता हेरेर शोकको सङ्केत गर्न कालो रङ्गको पट्टी लगाएरै कार्यक्रमहरूमा सहभागी हुनेछन्।

Please follow and like us: