भूकम्पपीडितको उद्धार र राहतमा सहकार्यमा जुट्न प्रधानमन्त्रीको आग्रह

नयाँ कुरा,४,नोबेमबर,सनिबार,काठमाडौँ ,

जाजरकोटको रामी डाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जसमध्ये जाजरकोटका मात्रै १०५ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गरेका छन् ।

जाजरकोटमा शुक्रबार राति आएको भूकम्पले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका- १२ मा भत्किएको घर। भूकम्पले आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ठूलो मानवीय क्षती पुर्‍याएको छ ।

नेपाल प्रहरीका अनुसार शनिबार दिउँसो साढे ३ बजेको विवरणमा जाजरकोटमा मृतकको संख्या १०५ पुगेको छ भने रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जाजरकोटमा ८१ जना घाइते रहेका छन् भने रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् । कूल घाइतेको संख्या १६६ रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरूको काठमाडौं, बाँके, सुर्खेत लगायतका जिल्लामा रहेका अस्पतालमा उपचार भइरहेको छ ।

जाजरकोटको भूकम्पका पीडितहरुलाई लुम्बिनी प्रदेश सरकारले राहतस्वरुप कर्णाली प्रदेश सरकारलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

सरकारले पश्चिम नेपालका पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोज/उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५/५ करोड रुपैया पठाउने निर्णय भएको हो ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा रुकुम पश्चिम र जाजरकोटमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ ।

Please follow and like us: