देबमान हिराचनले गैर आवासिय नेपाली संघ को बिशेष महाधिबेशन रोक्न सुझाब

काठमाडौं (जीएनएन) – गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष देवमान हिराचनले कोभिड महामारीका बेला हतारिएर भर्चुअल विधिबाट संघको विशेष अधिवेशन नगर्न संघको वर्तमान नेतृत्वलाई सुझाव दिएका छन् ।

जापानमा बसोबास गर्ने पूर्व अध्यक्ष हिराचनले संघका अध्यक्ष कुमार पन्तसहित पदाधिकारी तथा सबै आइसीसी सदस्यहरुलाई एक इमेल पठाउँदै भर्चुअल विधिबाट गर्ने भनिएको संघको विशेष महाधिवेशन रोक्न आग्रह गरेका हुन् ।

‘विश्वको ७० देशहरु भन्दा बढी देशहरुमा बस्ने नेपालीहरुको संस्था भएको र महाधिवेशन जस्तो कुरा सामान्य कुरा पनि नभएकोले अनलाइन र भर्चुअल प्रविधि मार्फत गर्नु हुंदैन किनकि महाअधिवेशन जस्तो कुरा एउटा साधारण मिटिङ्गको रुपमा सोच्न हुंदैन’ हिराचनले आफ्नो इमेलमा उल्लेख गरेको एनआरएनए सूत्रले जनाएको छ । उनले वर्तमान कार्य समिति निर्वाचित भएको दुई वर्ष पुग्दा अर्को महाधिवेशनको समय पनि आउने भन्दै नियमित महाधिवेशनमा नै सबै विषयलाई लैजान सकिने बताएका छन् ।

‘यसरी अधिवेशन गर्दा एक आपसमा साथीहरुबीचको सम्बन्ध र देशमा भएको विषयलाई छलफल गर्ने मौका पनि मिल्छ, अधिवेशन जस्तो कुरालाई सजिलोसंग नसोचेको राम्रो हुन्छ भन्ने मेरो बुझाई रहेको छ ।’ उनले नेतृत्वको ध्यानाकर्षण गर्दै भनेका छन् । पूर्व अध्यक्ष हिराचनले गत वर्ष नेपालमा भएको विश्व ज्ञान सम्मेलनको स्मरण गर्दै भनेका छन्, ‘अनलाइन, जुम मिटिङ्गबाट सबैको विचार र बोल्ने समय नभएकोले कतिपय साथीहरुले आफ्नो भन्न खोजेको कुरा पूरा गर्न नपाउँदै माइक्रो फोन बन्द गरेको कुरा सबैलाई थाहा नै भएको कुरा हो।

झन् महाअधिवेशन जस्तो कार्यक्रम अनलाइन र भर्चुअल प्रविधि मार्फत हुनुहँदैन भन्न चाहन्छु ।’ पूर्व अध्यक्ष हिराचनले महाधिवेशन जस्तो गम्भीर विषय प्रत्यक्ष रुपमा, सबैभेला भई, सबैको अगाडि, एक ठाउँमा सबैको बिचार राखी गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको स्पष्ट पारेका छन् । पूर्व अध्यक्ष हिराचनले संघलाई सबैको साझा संस्था बनाउन पनि सुझाव दिएका छन् ।

‘एनआरएनए हामी सबैको साझा संस्था भएकोले मेरो संस्था होइन, हाम्रो संस्था बनाउँ,’ उनले आग्रह गरेका छन् । संघको नेतृत्वले यही जनवरी २३ र २४ का लागि भर्चुअल विधिबाट हुने गरी विशेष महाधिवेशनको घोषणा गरेपछि विवाद देखिएको छ । पूर्व अध्यक्षहरुले नै सारा विश्व कोरोना महामारीसंग जुधीरहेका बेला अहिले गर्न लागिएको अधिवेशनको औचित्य नभएको भन्दै आलोचना गरेका छन् । तर संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले तोकिएकै मितिमा भर्चुएल माध्यमबाटै विशेष महाधिवेशन हुनेमा जोड दिएका छन्। नेपाल प्लस अनलाइनसंग कुरा गर्दै पन्तले भने,” यो संस्था स्थापना भएको १८ वर्ष भन्दा बढी भयो । यति लामो समयसम्म पुरानै विधान चलेको छ ।

परिवर्तित समय अनुसार हाम्रो विधान पनि परिमार्जित गर्नुपर्ने आवश्यकता महसुस गरेका छौं ।” उनले प्रविधिको विकासका कारण २६ सय मात्र होइन हजारौं हजार मान्छेहरु स्क्रीन अघी बसेर छलफल गर्न सकिने पनि बताए। तर संघका चार जना आइसीसी सदस्यहरु तथा अफ्रीका क्षेत्रीय संयोजकले आवश्यक प्रक्रिया नपुराइकनै विशेष महाधिवेशन बोलाइएको र विधान विपरित नयां डेलिगेटहरु चयन गरिएको भन्दै परराष्ट्र मन्त्रालयलाई एक पत्र पठाई विशेष महाधिवेशन तत्काल रोक्न माग गरेका छन्।

उनीहरुले संघका बहुसंख्यक आइसीसी सदस्यहरुको आफ्नो माग प्रति समर्थन रहेको दावी पनि गरेका छन्।

Please follow and like us: