पोखरा ,२ अक्टुबर,
राजेन्द्र शर्मा,
दशैं नेपाली हिन्दूहरू मात्रको मौलिक परम्परा बोकेको महान पर्व हो । हिन्दू धर्म इतरका धर्मालम्वीहरु खास गरि पछिल्लो समयमा झिनो आर्थिक प्रलोभनमा परेर हिन्दू धर्मबाट अन्य धर्ममा जानेहरुले दशैँ पर्वलाई हिन्दू धर्मसँग जोडेर आलोचना गर्ने गर्दछन् । हरेक धर्मालम्वीहरूले आफूले स्वीकार र आत्मसात गरेको धर्म अनुसारको परम्परा र पूजाविधीको स्वतन्त्र रूपमा अभ्यास गर्नु धर्म भित्रको धर्म हो भन्ने कुराको हेक्का नराखी ठूलो संख्याका नेपाली हरुको मौलिक परम्परा टिका जमराको विषयमा आलोचना गर्नेहरुको थप आलोचना गर्न जरुरी पनि छैन । अरुको धर्म परम्परालाई आलोचना गर्नेहरु कुनै पनि धर्मको महिमा र महत्व नबुझ्ने हुन वा झिनो पैसाको प्रलोभनमा विक्रि भएका खेतालाहरु हुन। जुनसुकै धर्ममा विश्वास गर्ने व्यक्ति किन नहोस यदि उ असल धार्मिक व्यक्ति हो भने आफ्नो धर्मलाई अंगिकार गर्दछ भने अन्य धर्मलाई सम्मान गर्दछ ।
केही नेपाली हिन्दू धर्मावलम्वी जसले टिका जमरा सहित दशैँ पर्वलाई मनाउँछन्, उनिहरुमा पनि केही अन्योल के रहेछ भने दशैँ सम्पूर्ण हिन्दूहरुको चाड हो भन्ने लागेको छ । खासमा दशैँको महत्वको पक्षहरू हिन्दू धर्मशास्त्र मै आधारित छन् भने जुन प्रकारले नेपालीहरुले नवदुर्गाको पूजा पश्चात १० औं दिन विजया दशमीको दिन टिका जमरा लगाई मनाइन्छ, यो नेपालीहरु मात्रको मौलिक परम्परा हो । भारत, पाकिस्तान, थाइल्याण्ड, बर्मा बंगलादेश लगायतका देशहरुमा बसोबास गर्ने हिन्दूहरूले हिन्दू धर्मशास्त्रले भने बमोजिम कै विधी अनुसार नवरात्रीमा नवदुर्गाको पूजा अर्चना गरि दशमीको दिनमा समापन गर्दछन् । तर नेपालीहरूले जसरी दही चामलको अक्षता र जौ गहुँको जमरा लगाउँदैनन् । नेपाल र नेपालबाट अन्य देशमा बसाईं सरेका हिन्दूहरुले मात्र टिका जमरा लगाई दशैँ मनाउने चलन छ । यसबाट हामीले बुझ्नु पर्ने कुरा के छ भने दशैँ समस्त हिन्दूहरुको चाड भए पनि टिका जमरा लगाई मनाउने मौलिक परम्परा भने नेपाली हिन्दूहरुको मात्र हो ।
असत्य माथी सत्यको विजयको प्रतिकको रूपमा दशमी लाई विजया दशमीको नामले मनाइन्छ भने ठूला बडाहरु बाट टिका जमराका साथमा आशिष थाप्ने परम्परा छ । यसरी टिका जमरा थाप्न सबै परिवारहरु जम्मा हुने हुँदा छुट्टिएका परिवारहरु भेटघाट हुने अवसरको रूपमा पनि दशैँ पर्वको महत्व थप बनेको छ ।
खासमा आफू भन्दा ठूलाको हातबाट टिका जमरा थाप्दा भेटी स्वरूप उपहार राखिने परम्परा हो। तर त्यो उपहार आजभोली नगदमा परिणत भएको छ । परापूर्व कालमा आवश्यकता अनुसारको जिन्सी सामान वा फलफूल को उपहार प्रदान गरिन्थ्यो। समय क्रममा व्यक्तिको व्यस्तता र प्रतिकूलताले गर्दा भनेका बखतमा जिन्सी सामान वा फलफूलको जोहो गर्न नसक्दा वा उपहार स्वरूप प्रदान गरिएको जिन्सी उपहार प्राप्त गर्नेले सही रूपमा उपयोग गर्न नमिल्दा सो वापतमा उक्त उपहारको मूल्य बरावरको नगदै उपहार प्रदान गर्ने प्रचलन शुरू भयो ।
समय व्यतित हुँदै जाँदा दशैंमा उपहार स्वरूप नगदै दक्षिणा लिने दिने परिवाटी बस्यो। हुँदा हुँदा वर्तमानमा खाम बन्दी नै गरेर दक्षिणा दिने होडवाजीमा समाज अगाडी बढिरहेको छ।यसले गर्दा हुने खाने लाई दशैँ आउदै गर्दा त्यही दशैँ विपन्न वर्गका लागि भने दशा बन्ने गरेको छ ।
उपहार दिने व्यक्तिको क्षमताको प्रश्न त एका तिर छंदैछ भने उपहार प्राप्त गर्ने व्यक्तिको पदीय तथा सामाजिक हैसियतको आधारमा पनि उपहारको परिमाण बढाई व्यक्ति रिझाउने सम्मको सम्मको गलत अभ्यास बढ्दै गई दशैँको मौलिक महत्व कम हुँदै जान थालेको छ । मौलिक प्रचलन परिवर्तन भै आर्थिक अभावका कारण दशैं मनाउन नसक्दा हिन्दू धर्मलाई नै दोषी ठानी झिनो आर्थिक प्रलोभनमा परेर धर्म नै परिवर्तन गर्नेहरुको संख्या पनि बढन थालेको छ ।
तसर्थ दशैँलाई हिन्दू धर्मको मूल मान्यता र मौलिक परम्परामै मनाऔं।अनावश्यक रूपमा खर्चिलों र भडकिलो रूपमा मनाउन अस्वस्थ प्रतिस्पर्धा नगारौं। ऋण काढेर भए पनि खानैपर्छ भन्ने मान्यतालाई त्यागौ। आडम्वरी देखाई खामवन्दी गरेर वा ठूला ठूला पोका बनाई उपहार दिनु लिनु नगरौं। सम्मान स्वरूप भेटी राख्नै परे खुल्ला दुनोमा सानो अंकको पैसा र फलफूल राखौं। देखा सिकी गरेर आफैलाई समस्याको खाडलमा नहालौं। घाँटी हेरी हाड निलौं । आफ्ना सन्ततिहरूलाई टिका जमरा र आशिर्वादको महत्व बुझाऔं।
विजया दशमीको हार्दिक शुभकाना !!!
“नेपाल प्रेमी”