गैरआवासीय नेपाली संघ बेल्जियमको १७औं वार्षिक साधारणसभा बुधबार ब्रुजमा सम्पन्न

ब्रुज(बेल्जियम),बिहिबार, 

गैरआवासीय नेपाली संघ बेल्जियमको १७औं वार्षिक साधारणसभा बुधबार ब्रुजमा सम्पन्न भएको छ ।

बेनेलुक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जम्वर्ग) लागि नेपाली राजदुत गेहेन्द्रराज भण्डारी र गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा पानसमा दीप प्रज्वलित गरी समुद्घाटन गर्नुभएको सभामा बोल्दै प्रमुख अतिथि राजभण्डारीले नेपाल सरकार र दूतावासले प्रवासी नेपालीहरूमा देशप्रति अगाध माया ममता भएको बुझेको भन्दै अब प्रवासी नेपालीहरूले नेपालमा पूँजी, प्रविधि र सीपको लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।

राजदूत भण्डारीले आफूले नेपाली र यहाँको स्थानीय समुदायसँग जोडेर लग्ने प्रयास गरिरहेको बताउँदै बेल्जियमका नेपाली व्यवसायीहरूले नेपाली चिया र कफीको प्रवद्र्धनमा लाग्न सुझाव दिनुभयो । उहाँले बेल्जियमा प्रवासी नेपालीहरूको संख्या उल्लेख्य भएको हुँदा आगामी दिनमा राजनीतिमा समेत सक्रिय हुन आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले एनआरएन एक लाख भन्दा बढी सदस्यहरू भएको संसारकै सबैभन्दा ठुलो संस्था भएको जानकारी दिनै यस्तो संस्था नेपालीहरूको साझा सवाललाई उजागर गर्न र प्रवासी नेपालीहरूको मुद्धामा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष आचार्यले अहिले संसारभरी नै प्रवासी पहिलो पुस्ताका प्रवासी नेपालीहरू राजनीतिमा क्रमश: सक्रिय हुँदै आएकोमा अब दोश्रो पुस्तालाई पनि क्रियाशील बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

विशिष्ठ अतिथि आचार्यले नागरिकताका विषयमा धारणा राख्ने क्रममा संविधानले राजनैतिक अधिकार बाहेकका सामाजिक, साँस्कृतिक अधिकार गैरआवासीय नागरिकताको प्रावधान भएको उल्लेख गर्दै आफूहरू प्रवासी नेपालीहरूले यस्तो अधिकार प्राप्त गर्न लागिपरेको र यसका लागि नेपालमा सबैसँग लविङ गरेको बताउनुभयो । उहाँले संसारभरीका गैरआवासीय नेपालीहरूले नेपाली नागरिकता कहिले पाउने भन्ने प्रश्न पनि गर्नुभयो ।

आचार्यले नेपालमा लगानी भित्र्याउन र नेपालप्रतिको जिम्मेवारी बढाउन प्रवासी नेपालीहरूलाई नागरिकता आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको समृद्धिका लागि प्रवासीहरूलाई नागरिकता आवश्यक रहेको पनि बताउनुभयो । अध्यक्ष आचार्यले आफ्नो समितिले केन्द्रीय अधिवेशन तोकिएकै समयमा सम्पन्न हुनेमा सबै विश्वस्त हुन आग्रह गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा अतिथि गैरआवासीय नेपाली संघका केन्द्रीय सचिव गंगाधर गौतमले नेपालमा हुने हरेक घटना-परिघटनाहरूमा प्रवासी नेपालीहरूले सहयोग गर्ने गरेको स्मरण गर्दै जुटेर गए अझ बढी उपलब्धि हासिल हुने बताउनुभयो । उहाँले प्रवासमा नेपाली कला, भाषा, संगीत र संस्कृतिलाई जोगाउन एनआरएनए एक मात्र विकल्प भएको उल्लेख गर्नुभयो ।

संघका केन्द्रीय युरोप संयोजक सन्तोष भट्टराईले यसै महिनाको अन्तमा स्वीडेनमा हुने १४औं क्षेत्रीय भेलाको बारेमा जानकारी दिँदै भेलामा प्राप्त सुझावले संघलाई ठोस निर्णय लिने जानकारी गराउनुभयो ।

संयोजक भट्टराईले गैरआवासीय नेपाली संघ दोश्रो सन्ततिका लागि समेत आवश्यकता रहेको बताउँदै दोश्रो पुस्तालाई कसरी समेट्न सकिन्छ भन्नेमा गम्भीर भएर सोच्न आवश्यक रहेको बताउनुभयो ।

गैरआवासीय नेपाली संघ बेल्जियमका संस्थापक अध्यक्ष रवीन्द्रमान श्रेष्ठले आफू कमजोर भएपछि अरुले लाभ उठाउने प्रसङ्ग उल्लेख गर्दै अहिले एनआरएनएमा त्यस्तै अवस्था आएकोले यसप्रति गम्भीर भएर सोच्न आग्रह गर्नुभयो । श्रेष्ठले एनआरएन अभियान कमजोर भएमा नेपालीहरू कमजोर हुने चिन्ता व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली संघका पूर्व महिला संयोजक रजनी प्रधानले एनआरएन बेल्जियमले गरेको कामको प्रसंशा गर्दै यो अभियानलाई निरन्तता दिन आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी दिनहरूमा अझ बढी सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो ।

प्रवासी नेपाली मञ्चकी अध्यक्ष चन्द्रकुमारी गुरुङले गैरआवासीय नेपाली संघभित्र देखापरेको विवाद कसैको लागि पनि सुखद नभएकोले भन्दै यसलाई समयमै निराकरण गर्न केन्द्रले पहल गर्नुपर्ने बताउनुभयो । एनआरएनए थुप्रै सवालहरूमा चुकेको बताउँदै एनआरएनले तत्कालै प्रवासमा रहेका नेपालीहरूको पक्षमा बोल्न उहाँले आग्रह गर्नुभयो ।

जन प्रगतिशील मञ्चका अध्यक्ष प्रकाश पौडेलले दोहोरो नागरिकताको सवाललाई कडा रुपले उठाउन आग्रह गर्नुभयो । उहाँले बेल्जियममा नेपालीहरूको घरमा चोरीका घटनाप्रति चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि बेल्जियम सरकारसँग समन्वय गरेर अघि बढ्न एनआरएनलाई अनुरोध गर्नुभयो ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले बेल्जियममा बस्ने नेपालीहरूका लागि यो संस्था र कार्यक्रम एउटा अवसर भएको बताउँदै हाम्रा कमी-कमजोरीलाई औंल्याउने र सच्याउने मौका भएकोले यसतर्फ सोच्न आग्रह गर्नुभयो ।

अध्यक्ष शर्माले एनआरएन अभियानलाई सबै प्रवासीहरूले स्वीकार गर्नुपर्ने बताउँदै विगतमा एनआरएनकै कारण प्रवासमा रहेका नेपालीहरूलाई गर्व गर्न लायक बनाएको स्मरण गर्दै हामी आफूभित्र पनि कमजोरी रहेको हुनाले सुधार गर्न सक्यो भने अझ बढी लाभ हुन सक्ने र यो संस्थाको विकल्प नभएको बताउनुभयो ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले आफ्नो यो कार्य समितिले अरु संघसंस्थाहरूसँग हातेमालो गरेर सामाजिक सद्भावलाई प्रवर्धन गर्नमा जोड दिएको बताउँदै आफुहरू नेपाली कला संस्कृति जोगाउन सक्रियतापूर्वक लागेको बताउनुभयो ।

अध्यक्ष केसीले बेल्जियमको इतिहासमा आफूहरूले जानकारीमूलक पुस्तकको रूपमा स्मारिका प्रकाशन गर्न सफल भएको बताउँदै आफूहरूले एनआरएन बेल्जियमभित्र सुशासन, आर्थिक तथा प्रशासनिक पारदर्शिता, विधिको शासन जस्ता विषयलाई प्राथमिकता साथ राखेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली व्यवासायी संघ बेल्जियमका अध्यक्ष यमु निरौला, जनसम्पर्क समितिका अध्यक्ष पूर्ण तिमिल्सिना, नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका उपाध्यक्ष मुना राई, एना बेल्जियमका अध्यक्ष बलराम पुनलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सभाको बन्द सत्रमा संघका महासचिव रमेश कँडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघका आन्तरिक असहयोगका कारण संघले चाहेजति उपलब्धि हासिल गर्न नसकेको बताउँदै आगामी दिनहरूमा संघमा सबैको सहयोग प्राप्त भए अनपेक्षित रूपले सफलता प्राप्त गर्न सक्ने बताउनुभयो ।

त्यस्तै, सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघका कोषाध्यक्ष लोकेन्द्र नेपालले आफुले फजुल खर्च नियन्त्रण, आर्थिक पारदर्शिता र सुशासनलगायतका क्षेत्रमा विशेष ध्यान दिएको बताउनुभयो ।

कोषाध्यक्ष नेपालले संघमा सबै सदस्यहरूको सक्रिय सहभागिता भए संघलाई अनपेक्षित रूपले सफलता हासिल गर्न सक्ने बताउनुभयो । उहाँले संघको दिगो आर्थिक व्यवस्थाका लागि नियमित कार्यक्रमहरू आयोजना गर्न पनि सुझाव दिनुभयो ।

कार्यक्रममा इश्वरा शर्माले महिला विभागको, रुविना शर्माले नेपाली भाषा कक्षा र उपाध्यक्ष तीर्थराज धमलाले स्थानीय संघसंस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संघका समाचारहरू नियमित प्रकाशन गरेवापत चारदिशाका सम्पादक प्रकाशक ओम शर्मा, घटना र विचारका युरोप प्रतिनिधि सनत आचार्यलाई प्रंशसा एवम् सम्मान गरिएको थियो ।

त्यस्तै, कलाकार नरेन्द्र थापा र प्रवासमा नेपाली गीत-संगीतको प्रवद्र्धन र गायनमा सहयोग पुर्‍याउनु भएकोमा बलराम पुन र समितिभित्र उत्कृष्ट कार्यवापत कार्यसमिति सदस्य रुविना शर्मालाई सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष तीर्थराज धमलाले स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव रमेश कँडेलले गर्नुभएको थियो ।

यसैबीच साधारणसभाको अन्त्यमा इनास बेल्जियमको सहयोगमा साँस्कृतिक साँझ आयोजना गरिएको थियो । साँस्कृतिक साँझमा इनासका ससाना भाइबैनीहरूले नृत्य प्रस्तुत गरेका थिए ।

अतिथि कलाकारका रूपमा नेपालबाट आएका रीता केसी, चोलेन्द्र पौडेल, पार्वती जिसी, तुलसी क्षेत्री र कृष्ण काफ्लेले पनि आ-आफ्नो प्रस्तुति गरेका थिए ।

नोट :-समाचार घटना र बिचार बाट सभार गरिएको हो ।

Please follow and like us: