जापानमा ६ प्रान्तमा आपतकाल, ८ प्रान्तमा अर्ध आपतकाल लागू

टोकियो, जापान ,

टोकियो ओलम्पिक्स शुरु हुन अब तीन महीनाभन्दा कम समय बाँकी छ । तर कोरोना संक्रमितको संख्या बृद्धिले जापानलाई गहिरो चिन्ता थपिदिएको छ । यस्तोमा जापान सरकारले अहिले टोकियो, ओसाका, क्योतो र ह्योगो प्रान्तमा लगाइरहेको आपतकाल मे ३१ सम्म लब्याउने निर्णय गरेको छ । आपतकाल मे ११ मा सकिदैं थियो ।

संक्रमणलाई सुरक्षित स्तरमा झार्न अझ केही समय चाहिने अधिकारीहरुको सोचाई छ । चार प्रान्तमा आपतकाल लम्ब्याउनुको साथै प्रधानमन्त्री योशिहिदे सुगाले फुकुओका र आईची प्रान्तलाई पनि मे १२ देखि आपतकाल अन्तर्गत राखेका छन् । प्रधानमन्त्री सुगाको घोषणा अनुसार म्याद थपिएको आपतकाल अप्रिलको अन्त्यतिर घोषित भन्दा अलि फरक हुनेछ ।

केही प्रतिबन्धलाई म्याद थपको अवधिमा खुकुलो पारिएको छ । खानेकुरा र पेय पदार्थ विक्री वितरण गर्ने ठाउँहरु साँझ ८ बजेभित्र बन्द गरिसक्नु पर्नेछ र कुनै पनि समय रक्सी बेचबिखन गर्न पाइने छैन । रक्सी मात्रै बेच्ने ठाउँलाई महिनाको बाँकी समय पनि बन्द नै राख्न भनिएको छ । खाराओके सेवा प्रतिबन्धित नै रहनेछ । सिनेमा, डिपार्टमेन्ट स्टोर लगायतका व्यवसायलाई खोल्ने अनुमति दिइनेछ तर साँझ ८ बजेभित्र बन्द गरिसक्नु पर्नेछ ।

कार्यक्रमहरुमा पुनः दर्शक राख्ने अनुमति दिइनेछ । तर दर्शक ५ हजार वा क्षमताको ५० प्रतिशतमा सीमित गरिएको छ अनि साँझ ९ बजेभित्र सम्पन्न गरिसक्नु पर्नेछ । बाहिरी यात्रीहरुको संख्या ७० प्रतिशत घटाउन सरकारले सर्वसाधरणहरुलाई अझै पनि घरमै बस्न अनि अत्यावश्यक बाहेक अन्य कामका लागि घर बाहिर नजान अनुरोध गरिरहेको छ ।

अहिले अर्ध–आपतकालीन अवस्थामा राखिएका प्रिफेक्चरहरुमा पनि प्रतिबन्ध मे महिनाको अन्त्यसम्म कायम गरिएको छ । जस अनुसार अब ४७ प्रान्त मध्ये आपतकाल लागू भएको प्रिफेक्चरमा टोकियो, ओसाका, क्योतो, ह्योगो, आईची र फुकुओका गरि ६ प्रान्त हुनेछ ।

अर्ध आपतकालिन क्षेत्रका प्रान्तमा होक्काईदो, मिए, गिफु, साईतामा, चिबा, खानागावा, एहिमे, ओकिनावा रहेको छ । मियागी प्रान्तमा भने संक्रमण घट्दो क्रममा रहेका कारण मे १२ तारिखबाट अर्ध आपतकालिन अनुरोध हट्नेछ ।

जापानले कोरोना महामारी उत्कर्षमा पुगेको भन्दै शुक्रबार मात्र नेपाल सहित ईण्डिया र पाकिस्तानबाट आउने यात्रुहरुलाई कडा क्वारिन्टिन प्रावधान मान्नुपर्ने नियम सार्वजनिक गरेको छ ।

Please follow and like us: