राजेन्द्र शर्मा (नेपाली प्रेमी ),आईतबार ,द हेग ,
बन्नेहरु राजा बनेकै थिए, शासन गर्नेहरुले गरेकै थिए। कसैलाई शक्तिको प्रयोग गर्ने इच्छा भयो। सोझा साझालाई प्रयोग गरियो। सहिद गराइयो। व्यबस्थाको परिवर्तन गराइयो।
२००७ सालमा जहांनिया राणा शासनको शक्तिलाई राजाको हातमा पुर्याइयो। नाम प्रजाको दिइयो। “प्रजातन्त्र”।
त्यसपछि बिभिन्न व्यक्तिहरुबाट शक्तिको प्रयोग गर्ने प्रयासहरु भए। कति मारिए, कतिलाई मराइयो। नाम जनताकै दिइयो। शक्तिको प्रयोग कुनै खास व्यक्तिबाट वा समूहबाट भयो।
२०१५ साल ताका खास व्यक्तिको समूहले शक्तिको प्रयोग गर्ने रहरले व्यबस्था परिवर्तनको नाममा एउटा अभ्यास गरियो। कोही खास व्यक्तिलाई खास पदमा नियुक्त गरियो। २०१७ सालमा फेरी कुनै व्यक्तिलाई शक्तिको प्रयोग गर्ने रहर जाग्यो अनि अर्को अभ्यास गरियो। कसैले के नाम दिए। चित्त नबुझ्नेबाट “कू” गरेको नाम दिइयो। त्यसपछि पनि बिचविचमा बिभिन्न व्यक्तिले आफ्नो शक्ति परिक्षण र प्रयोग गर्ने रहरले फरक फरक काण्ड रचियो रचाइयो। २०३६ सालमा धेरै व्यक्तिहरुलाई बलिको बोको बनाइयो। २०३७ सालमा खास व्यक्तिहरुले आफ्नो शक्तिको परिक्षण गरे। नाम “जनमत” दिइयो।
आफ्नो पछाडि ठुलो जनसमूदायको समर्थन छ भन्दै शक्तिको लागि मोलमोलाई गर्नेहरुको हविगती थाह भयो। तैपनी विचविच मा काण्ड गर्दै गरिंदै गयो।
जनमानसमा भ्रम छर्न सफल हुँदै २०४६ सालमा धेरै व्यक्तिहरुलाई बलि चढ्नको लागि तयार गरियो। व्यबस्था परिवर्तन गराइयो। कुनै खास व्यक्तिहरुले शक्ति प्रयोगको अभ्यासमा लागे। जनताको जीत भयो भन्दै फेरी नाम दिइयो “प्रजातन्त्र”।
यसमा अर्को समूहको शक्ति प्रयोग गर्ने इच्चा पूरा हुने देखिएन। उनिहरुको खुराफाती दिमाग चलिरहयो। कुनै खास समूहका सर्वसाधारणलाई बलि चढाएर आफ्नो शक्ति देखाउने रहर जाग्यो। २०५२ सालमा धनयुद्द शुरु गरियो। नाम दिइयो “जनयुद्द”।
यसै विचमा शक्ति प्रयोगका विभिन्न अभ्यासहरु हुँदै गए। खास समूहको स्वार्थ सिद्दको लागि २०५८ सालमा “दरवार हत्याकाण्ड” रचाइयो। एउटा परिवारको वलि चढ्यो।
कुनै एउटा समूह हावी हुँदै गयो। अर्को व्यक्तिलाई राजा बनाइयो। शक्ति अर्कै बाट संचालन गर्ने अभ्यास गरियो तै पनि शक्ति प्रयोग गर्ने रहरकर्ताहरुको स्वार्थ मिलेन। फेरी अर्को काण्ड भयो। २०६१ मा प्रधानमन्त्री भन्ने शक्ति घरमै नजरबन्द भए।
बर्षौं सम्म सत्ता चलाएर हेरेर पनि केही गर्न नसके पनि राज्यको सर्वोच्च पदमा आसिन हुने यिनिहरुको रहर भने जागिरहयो।
२०६२-६३ मा केही समूहलाई परिक्षणको लागि तयार गरियो र सडकमा उतारियो। नेता बन्न रहर गर्नेरुको आन्दोलन शुरु गरियो वलि चढ्न रहर गर्नेहरुलाई वलिको बोको बनाइयो। नाम दिइयो “जनआन्दोलन”।
पुस्तौनी राजा हुने व्यबस्थाले आफुहरु राजा हुन नपाउने हुँदा शक्ति प्रयोग गर्ने एकादुइ विरुद्दमा धेरै जनाहरुको स्वार्थ मेल भए पछि संविधान बनाउने जिम्मेवारी बोकेर संविधान सभामा गएका ६०१ महामुर्खहरुले संविधान बनाउन त कता हो कता जनमत विना नै २०६५ सालमा व्यबस्था फेरिएको घोषणा गरे। नाम दिइयो “गणतन्त्र”।
पटक पटक व्यबस्था परिवर्तन भयो। अवस्था कहिल्यै परिवर्तन भएन। नाम जनताको दिइयो स्वार्थ सीमित व्यक्तिहरुले सिद्द गरे।
राजतन्त्रले देश बिकास हुन दिएन भन्ने भ्रम फैलाई लादिएको गणतन्त्रका रजौटाहरुलाई पाल्न बांसले बारेको सुंगुरको खोर, खरको छानो हाली कुखुराको खोर बनाउन पर्दा १०००-१५०० तिरेर सिफारिस लिनु पर्ने व्यबस्था गरिएको छ।
प्रजातन्त्र आयो भनियो “पर जा तन्त्र” भयो, जनताको अधिकार पर पर गयो। लोकतन्त्र आयो भनियो “लोप तन्त्र” भयो, जनताको अधिकार लोप भयो। गणतन्त्र आयो “गांड तन्त्र” भयो, जनताको लागि गलगांड बन्यो।
तसर्थ, अब दाल भात दिवस, नि:शुल्क शिक्षा दिवस, नि:शुल्क स्वास्थ्य दिवस कुनै दिन मनाउन पाए स्वतन्त्र दिवस मनाउंला अन्यथा शिक्षा स्वास्थ्य जस्ता सामान्य अधिकारको सुलभ महसुश गर्न नपाउदा सम्म यस्ता कुनै पनि ……तन्त्र दिवस मनाउनुको अर्थ छैन।