नेकपा असन्तुस्ट पक्षको नेपाल बन्दको असर देशब्यापी

जीएनएन काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज देशभर आमहड्ताल गरेको छ। संवैधानिक निकायहरूमा बलमिच्याई गर्दै नियुक्ति गरेको विरोधमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आमहड्तालको गरेको हो।

गृह मन्त्रालयले बिहिबार सवारी सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आह्वान गरेको थियो। यद्यपि, व्यवसायीहरुले सञ्चालन गरेनन्।  विभिन्न जिल्लाबाट छुटेका रात्री सेवाका गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर कटायो। ट्रकहरुलाई पनि सञ्चालनमा सहजिकरण गरेको छ। तर पनि केही गाडीहरुमा तोडफोड गरिएकाे छ।

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नेता झा घाइते

नेकपाको प्रचण्ड–नेपाल समूहले आम हड्ताल गर्नेक्रममा जनकपुरको शिव चोकमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन्। नेता झाको टाउकोमा चोट लागेको छ। झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ। केही गाडीमा तोडफोड पनि भएको छ।

बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड

नेकपाको प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन्।

बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेका हुन्। मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन्। यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेका हुन्।

अज्ञात समूहद्वारा बसमा ढुङ्गा प्रहार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ। काठमाडौंबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ। बिहान ६ः०० बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको हो। बसमा रहेका यात्रु भने सकुसल छन् भने ढुङ्गा प्रहार गर्नेको खोजी भइरहेको छ।

बन्दकर्ता पक्राउ

काठमाडाैं उपत्यकामा मात्रै ८० भन्दा बढी बन्दकर्ता पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन्।

गृहमन्त्रालयले पूर्ववत्रुपमा निर्धक्क भएर यातायात व्यवसाय, उद्योगधन्दा तथा पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

सामाखुशीमा ट्याक्सीमा आगजनी

सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ। काठमाडौ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६ः३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी जलेर नष्ट भएको छ। बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको हो। ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको छ।

धरानमा झडप

धरानमा प्रदर्शनकारी र मजदुरबीच घम्साघम्सी भएको छ। बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच घम्साघम्सी भएको हो।धरानमा सवारीसाधनमाथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।

विराटनगरको चिया पसलमा तोडफोड

बन्दको उल्लंघन गरेको भन्दै विराटनगरमा नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताले चिया पसलमा तोडफोड गरेका छन्। बन्दको बेला चिया पसल खोलेको भन्दै उनीहरुले विराटनगर महानगरपालिका–२ स्थित चिया पसल बिहीबार दिउँसो साढे १२ बजे तोडफोड गरेका हुन्।

तोडफोडका क्रममा समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल कराही घोप्टिँदा तातो तेलको छिट्टाले पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया बबिता सहनी सामान्य घाइते भएका छन्। तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन्।

सुर्खेतमा मोटरसाइकलबाट थुतेर कुटपिट

सुर्खेतमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले मोटरसाइकल चलाइरहेका मानिसलाई थुतेर कुटपिट गरेका छन्। बिहिबार बिहान साढे ९ बजेतिर बुलबुले गेटनजिकै पूर्वतिरबाट मोटरसाइकल चलाएर आएका युवालाई थुतेर बन्दकर्ताले गरेका कुटपिट  गरेका हुन्।

Please follow and like us: