द हेग , हेम कुमार श्रेस्ठ ,
कम्युनिष्ट आन्दोलनमा होमिदै गर्दा कम्युनिष्टहरुको एउटै सपना थियो ” एकमना कम्युनिष्ट सरकार ” अथवा भनौं ” नेपालमा कम्युनिष्ट शासन “। गर्व लाग्छ, कालान्तरमा कम्युनिष्टहरुले दुई तिहाइ कै सरकार पाए। पार्टी स्थापना काल देखी नेपाली कांग्रेसले कैयौं पटक एकलौटी सरकार चलाऊने अवसर मात्रै पाएको थिएन कि आन्तरिक द्वन्द र अहं भावनाले कैयौं पटक सत्ता गुमाएको थियो भने यसको आरोह अवरोह करिव सत्तरी बर्ष चल्यो। यसका प्रत्यक्ष्य साक्षी कम्युनिष्टहरु नै हुन तर केही मिलिजुली तथा कमजोर सरकार मात्र चलाऊने अवसर पाएको तथा नेपाली कांग्रेस भन्दा केही जोर बर्ष पछी मात्र गठन भएको कम्युनिष्ट पार्टीको एकमना दुई तिहाइ बहुमतको सरकार बनाउने अवसर पाएको भने सत्तरी बर्षको इतिहासमा पहिलो हो।
हो, अहिले नेपालमा कम्युनिष्ट अथवा नेकपाको दुई तिहाइ बहुमतको कम्युनिष्ट शासन होइन तर कम्युनिष्ट सरकार छ , यो गर्वको बिषय हो। बिभिन्न गुट र फुटको शिकार बन्दै अबुभवी पार्टीहरुको एकता पछी बनेको सरकार हो यो। भनौं कि जहाँ कैयौं पुर्व प्रधानमन्त्री लगायत पार्टीका पुर्व अध्यक्ष्य तथा कुशल नेत्रित्वगणहरुको सहभागीता रहेको केपी ओलिको बलियो सरकार छ। अत: यस्तो लाग्छ कि अब नेपालमा कम्युनिष्टले पचासौं बर्ष राज्य संचालन गर्नेछ। मुलुक संघियतामा गैसकेको र कार्यन्वयनको दिशामा अगाडी बढीरहेको सन्दर्भमा बिगतमा सरकार सन्चालन गर्दाका अनुभव र आजका द्रिश्यमा नितान्त फरक हुनु स्वाभाविक हो। सिंहदरबारको सरकार गाउं छिरेको छ, गाउं ले अर्बौंको सरकारी बजेट पाएको छ, बिकास निर्माणका योजनाहरु धमाधम बनेका छन भने काम समेत भैसकेका उदाहरण छन। मानौं, सम्बृदीका ढोकाहरु खुली सके जुन कम्युनिष्ट सरकार वा केपी ओली सरकारको मुख्य एजेन्डामा रहेकोछ।
प्रमुख प्रतिपक्ष एजेन्डा बिहिन छ , जनतामा जाने उसको कुनै बिकासे मुद्दा नै छैन। एकाध बिरोधी आवाज बाहेक चुपचाप रमिते बनिरहेको छ। यस्तो लाग्छ कि सरकार ले दिन गुणा रात चौगुना निर्बाध काम गर्न पाइरहेको छ। बिडम्बना !वास्तबिकता यस्तो देखिदैन, अवस्था रहस्यमय र गम्भीर देखिन्छ।
प्रमुख प्रतिपक्षको भूमिका आफ्नै पार्टी भित्रका गुट उपगुटहरुले निभाइरहेका छन, ओली सरकार ढलाउने मात्र होइन कि केपी ओलीको राजनैतिक ईतिहास नै समाप्त पार्ने रस्सा कस्सीमा दिनरात कोठे बैठक तथा भेलामा जुटेको देखिन्छ, एकता बिरोधी धुन्दकारी हरु मार्फत पार्टी फुटका समाचारहरु सर्बत्र हल्ला गराइञ्छ । मानौं; केपी ओली सरकार एक दिन मात्र बढी चलेमा देश बर्बाद हुनेछ, नेकपा बर्बाद हुनेछ। सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली माथी पार्टीका बिभिन्न लान्छना र आरोपहरु लाइएका छन्, जस मध्ये गम्भिर आरोप हरु छन् ; पार्टीको निर्देशन नमानी मनोमानी ढंगले काम गरेको, राजनीतिक नियुक्तिमा पक्ष्यपात गरेको , मन्त्रि पद आफुखुसी बाँडेको,आदी आदी ।
राजनीति एक अन्तरराष्ट्रिय शब्दावली हो तर नेपाली राजनीति नेपाली माटो र बस्तुस्थिती सुहाउदो हुनुपर्छ। केपी ओली सरकार बहुदलिय संसदिय प्रणाली अन्तर्गत जनताबाट निर्वाचित लोकतान्त्रिक सरकार हो। महाभुकम्प, भारतीय नाकाबन्दी र प्रतिपक्षको अटल सामना गर्दै कोरोना महामारीसंग युरोप र अमेरिका भन्दा कुशल ढंगले जुधिरहेको सरकारलाई नजायज आरोपीत बनाउनु सान्दर्भिक देखिदैन। ब्यक्तिगत कुन्ठा, भागबन्डा, राजनीतिक नियुक्ती तथा पद बांडफांडका बिषयलाई लिएर आफनै पार्टी भित्रै प्रतिपक्षको भूमिका खेल्नु राजनेताहरुलाई शोभा दिदैन। आफनै प्रधानमन्त्री वा सरकार गिराउन आफ्नै पार्टीका नेताहरुले खेलेको यो भूमिका सायद विश्वको इतिहासमा पहिलो उदाहरण होला। भलै कम्युनिष्ट पार्टीबाट बनेको सरकार भएर पनि कम्युनिष्ट शासन चलाऊने हैसियत नराखेको संसदीय मुल्य मान्यता र संबिधान अनुसार निर्वाचित सरकारले स्वच्छन्द रुपमा देश र जनताका लागी पुरा अवधी काम गर्न पाउनु पर्छ। चाहे जुनसुकै नेत्रित्वको सरकार होस्, स्वेच्छाचारी भएमा वा जनताको हित बिपरित काम भएमा आवधिक निर्वाचनमा जनताले नै बिदाइ गर्नेछन।
अनुभवी राजनेताहरुको अथक प्रयासले संभव भएको एकता प्रकृया अहिले सम्म टुङिएको छैन। भैसकेका एकतामा मनहरु एक भएका छैनन् । लाखौंं कार्यकर्ताहरु बिचल्ली हुने अवस्थामा छन् भने कहिलेकाही बिगतका बिचार तथा सिद्दान्तका बहस समेत हुने गरेका छन्। “काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर”! सिद्दान्त, बिचार र बादका बहसहरु त सोभियत संघको बिघटन र नव उदारबादको जन्म संगै विश्वबाटै सकिसकेको थियो भने नेपालमा स्वर्गिय जननेता क. मदन भन्डारी ज्युको जनताको बहुदलिय जनबादको प्रतिपादन पछी सकिएको भन्न सकिन्छ जुन नेपाली कम्युनिष्टहरुका लागी एक क्रान्तिकारी तथा युगान्तकारी परिवर्तन थियो र जनताको बहुदलिय जनबादको सुत्रले नै आजको दुई तिहाइ सरकार संभव भएको हो भन्न हामी हिच्किचाउनु पनि कायरपन हो तर हामीमा केही जडसुत्रबादीहरुले यसलाई आफु सत्ता चढ्ने भर्र्याङ् बनाउन सुक्ष्म बहस जिउदो राखेका हुन। अहिलेको युगमा कुनै बिचारको बहसले मात्र काम गर्दैन, देश र जनताका मर्म र आवश्यकता अनुसार नै देश हाक्नु पर्ने हुञ्छ।
राजनीति एक अन्तरराष्ट्रिय बिषयबस्तु जुन अहिले चरम उत्कर्समा पुगिसक्यो। बिडम्बना ! हामीले यसको सहि उपयोग गर्न सकेनौं। हाम्रो देश जस्ता मुलुकहरुले केबल बिकास र सम्बृदीका नारालाई मुख्य मुद्दा बनाइनु पर्थ्यो जुन ढिलै भए पनि केपी ओलिको उदय पछी मात्रै सुरु भैदिएकोमा हामीले गर्व गर्न सक्नु पर्छ ।सन् २०२० देखी बिकसित मुलुकहरु बिकासको भारी बिसाउदै थकान मार्न थालिसके र यो सन् २०३० सम्म चल्ने अनुमान गरिएको छ। हाम्रो देशको अवस्था नितान्त फरक रह्यो, पुवाधार बिकास नै नभै थकान र बिसाइलाई साथ दिने कि बिकास र सम्बृदीलाई निरन्तरता दिने वा बिचारको बहस मै देशलाई अनिर्णयको बन्दी बनाइ राख्ने? अब यस माथी पो बहस हुनु पर्ने हो कि !
छोडौं यस्ता बहसहरु, त्यागौं गुटबन्दी , लोभी आत्मा त्यागौं, लाखौंं कार्यकर्ताहरुको आत्मालाई बुझौं र पार्टी एकतालाई मुर्तरुप दिंदै देश बिकास र सम्बृदीका लागी जनताका घर दैलोमा पाइला राखौं। पार्टी चलाउनेहरुले पार्टी चलाऔं , सरकार चलाऊनेले देश र सरकार चलाऔं , सम्बृदी हाम्रै पालामा संभव छ तर निर्वाचित सरकारलाई साथ दिएर पुरा अवधी काम गर्न दिऔं !!!
लेखक प्रवासि नेपाली मन्चका पुर्व बरिस्ठ उपाध्यक्ष्य हुनुहुन्छ |