भानु र भस्ट्रचार

भानु र भ्रष्टाचार

घुस्याहाहरु घुस माग्छन्

मानौं बिरामीले जुस मागेझैं

लाग्छ, घुस माग्नु उनीहरुको

संवैधानिक अधिकार हो

योजना मिलाए बापत

फरफारक गरेवापत

खाने बहाना अनेक

नखाएको विष लाग्दैन भन्थे

तर अपवाद

भानु तिमी गतिलो प्रमाण छौ

जमाना बदलियो

मान्छे बदलिए

मनोवृत्ति, संस्कार बदलियो

घुस खाने शैली बदलियो

काममा बोलीमा भोलि हुन्छ

टेबुलमा घुसको मगन्ते झोली हुन्छ

अफिसको कुरै छाडौं अहिले

हाकिमले मुख बाउँदा पनि

घुसको प्रस्ताव वमन भएझैं लाग्छ

जेलेबीमा चास्नीझैं

मानिसका अन्तस्करणमा

घुस्ने भएर होला घुस भनिएको

हाकिम बोल्दैन कारिन्दा छोड्दैन

कारिन्दाको मूल हुँदै हाकिमसम्म घुस्ने

त्यसैले भनिएको हुनुपर्छ घुस

जमाना कति फरक !

हाकिम÷ कारिन्दा अकारण पैसा माग्छ यहाँ

नदिए काम बन्दैन

दिनुपर्छ हाकाहाकी

तर घुस भन्न सकिँदैन

लिनेलाई लाज छैन

दिन्नँ भन्न आफैलाई लाज लाग्छ

पर्दाफासको कुरै छोडौं

भानु, तिमी विनाकारण घुसकाण्डमा 

थुनियौ

तिमी घुस लिएनौ जेल प¥यौ

अहिले घुस लिन्छ

शानसित महलमा बस्छ

नुन उसको 

कानुन उसको

साथी उसैका

राज्यसत्ता उसैको

लाभका पदहरु उसैका

घुस नखाने हुतीहारा

सर्वहारा

घरमारा

परिवारमारा

भ्रष्टाचार अहिलेको सदाचार

भानु ! तिमीमाथिको आरोप

सत्य थियो थिएन

खैर सत्य नै किन नहोस्

तिमीले त हिसाब मात्रै बिगारेका थियौ

बिग्रेको हिसाब सप्रिन पनि त सक्थ्यो

अहिलेका हाकिमहरु कामै बिगार्छन्

न्याय निसाफ बिगार्छन्

पद्धति बिगार्छन्

देश बिगार्छन्

साली मामा फूपू ससुरालीतिरका

सात पुस्ता सपार्छन्

भानु यहाँ यस्तै छ 

सुत्केरीका नाममा भत्ता हसुर्छन् 

पिण्ड खाने उमेरमा सत्ता दगुर्छन्

सहिदका नाममा

घाइते अपाङ्ग द्वन्द्वपीडित

अनेकथरी मकुन्डो भिरेर

बुख्याँचा जीवन जिउनेहरु हो 

खबरदार !

जनता अब सचेत भैसके

यहाँ कायापलट हुनैपर्छ

मुलुक रामराज्य बन्नैपर्छ

अवश्य हुन्छ

जब भ्रष्टाचारले सगरमाथा छुन्छ

घुसखोरीले सीमा नाघ्छ

अनि देशका सच्चा हनुमानहरु

भ्रष्टाचारको लङ्का भस्मसात् गर्दै हिंड्छन्

सदाचारको एकमुठी विभूतिले

विकृतिका विरुद्ध छुमन्तर गर्दै

सदाचारको विगुल फुक्छन्

अनि हराउँछ भ्रष्टाचार र 

उदाउँछन् लोकहितकारी नारदहरु

जन्मन्छन् भानुहरु

रसाउँछ कवि हृदय

 

धनराज सापकोटा

  बा ना पा ५ मालिका बागलुङ

Please follow and like us: