प्रसँग: नारी दिवस र आरक्षण

 

नयाँ कुरा , बुधवार ,८ मार्च ,आमस्त्रडम,

“नारी दिवस ठगी खाने भांडो नहोस्, नारीबाटै नारिलाई कुनै वस्तुको रुपमा प्रयोग नगरियोस”

८ मार्च, आज नारी दिवस। विभिन्न ठाउँ ठाउँमा फरक फरक र आफ्ना आफ्नै पारमा नारी दिवस मनाइयो। अधिकतम स्थानमा पुरुषहरुलाई पाखै राखेर मनाइयो। जहाँ जहाँ पुरुषहरुलाई प्रवेश दिइयो त्यहां पनि पुरुषको उछितो काढ्ने काम भयो। अधिकार, शक्ति र समानताका बारेमा गफ हानियो। बर्षै भरी समान रुपमा नारिको सम्मान हुनसक्ने वास्तविकतालाई विर्सेर हिजो आज नारीहरु एक दिने र एकछिने खादा, माला र आसन ग्रहणमा रमाउदै अलमलिएको देखिन्छ।

नारीको हक, हित र शक्तिका बारेमा लेखिदिएको र घोकेको भाषण पढ्नेलाई त्यो कार्यक्रम गर्ने रकम कहाँबाट कति आयो? कति खर्च भयो? कति खर्च देखाइयो? र बाँकी कसको खल्तिमा जान्छ भन्ने सम्म पनि थाहा हुँदैन। वस एक छिन पुरुष विनाको संसारको कल्पनामा भाषण गर्छन् एक कप चिया र बिस्कुट खाएर घरमा जान्छन। फेरी एकछिन अगाडि गाली गरेको उही पुरुष सँग हातेमालो गरेर आफ्नो दैनिक जीवनचर्या चलाऊन वाध्य हुन्छन। पुरुष विनाको नारी र नारी विनाको पुरुष अधुरो हुन्छ भन्ने जान्दा जान्दै पनि अरुले हालिदिएको उकेरामा चढेर किन आफ्नो धरातल विर्सिने?

विश्वका अति विकसित राष्ट्र जहाँ नारीहरुको पूर्ण सम्मान र हक हुन्छ, त्यहां सार्वजनिक सबारी साधन वा स्थानमा महिला सिट छुट्ट्याइएको हुँदैन।

नेपालमा सार्वजनिक सवारी साधनमा महिला सिट छुट्ट्याएर महिलालाई कमजोर प्राणीको बर्गमा राखिएको छ। महिलाहरु पनि ४० सिट भएको बसमा छुट्ट्याइएको आँफैले भाडा तिरेर चढ्ने २ सिट प्राप्तीले कति न हक प्राप्ती भएको गर्व गर्छन्।

जबकी आरक्षणको कोटामा पर्ने राज्यको ढुकुटिबाट सेवा सुबिधा प्राप्त हुने आरक्षित सुबिधाका बारेमा सर्वसाधारणलाई पत्तै छैन। आरक्षणको आवाज उठाउने केही निहित स्वार्थ भएका केही व्यक्तिले बसका २ वटा सिट वा अस्पातलको प्रतिक्षालयका आरक्षित एउटा महिला बेन्च लाई आफ्नो आन्दोलनको प्राप्ती वा सफलताको रुपमा व्याख्या गर्दै सोझा साझाको विश्वास भुट्न सफल भएका छन।

खासमा उनिहरुले सोझासाझा नारी वर्गको नाममा आरक्षणको व्यबस्था कानूनमा लेखाइ यही कमजोर व्यबस्थाको दूरुपयोग गरी धनाढ्य, सम्पन्न परिवारका महिलाहरुले राज्यको ढुकुटिबाट सेवा सुबिधा सहित प्राप्त हुने आरक्षणको पद हडपने गरेका छन।

जसको नाममा आरक्षणको व्यबस्था गरिएको हो उसलाई पत्तो सम्म हुँदैन कुन पद आरक्षणमा छ भन्ने। जुन जुन पात्रहरु आरक्षणको पद ओगटेर बसेका छन उनै पात्रहरु फेरी अर्को ठाउमा समान महिला हक अधिकारको कुरा गर्छन् र अर्को समुदायलाई फेरी उल्लु बनाइ आफ्नो स्वार्थ सिद्द गर्छन्। एउटै समूहको लागि आरक्षण र समान अधिकारको दोहोरो कुरा उठाइ तिनै समूहलाई अलमलमा पार्ने यस्ता द्वैध चरित्र प्रति अब नारी समूदाय सजग हुन जरुरी छ।

खासमा आरक्षणले पिछडीएका महिलालाई झन पछि धकेलेको साथै सशक्त महिलालाई अपमान गरेको छ।

तसर्थ आरक्षणको लागि होइन समान शिक्षा र समान अधिकारको लागि आवाज उठ्नु पर्छ। एक दिन नारी दिवस मनाएर होइन कुनै दिवस नमनाइकनै सधैं भरी नारिलाई उच्च स्थानमा राखिनको लागि आवाज उठ्नु पर्छ।

 

सवै नारीहरूमा नारी दिवसको शुभकामना,

जय नारी,

लेखक -राजेन्द्र शर्मा “नेपाल प्रेमी”

Please follow and like us: