नयाँ कुरा ,बुधबार ,आमस्त्रडम,
देश निर्वाचनमा धकेलिदै गर्दा सबै राजनैतीक दलहरु आ-आफ्नो पार्टीका उम्मेदवारलाई जिताउनको लागि सबै रणनितीक अस्त्र प्रयोग गर्दैछन।
साम, दाम, दण्ड, भेद त पुरानै अस्त्र मध्ये पर्दछन। त्यस बाहेक पनि गत स्थानीय निर्वाचन देखी गठबन्धन नामको अर्को नयाँ अस्त्रको प्रयोग गरिएको छ। यो अस्त्रले गरेको शिकारको स्वाद धेरै थोरै सबैले चाखेको भए पनि माओवादीले भने पेट भरी खाएको थियो। चुनाव पछि पनि ठूला भनिने पार्टीहरु कहिले सरकार भित्र कहिले बाहिर भए। तर माओवादी भने गठबन्धनको नाममा जहिले पनि सत्तामै रमाइरहेको छ।
गठबन्धनको अर्थ मिल्नु हो। मिल्नु आँफैमा नराम्रो कुरा होइन। सरकार गठनको लागि कसैले एकल वहुमत नल्याए राज्य संचालनको प्रयोजनको लागि गठबन्धन जरुरी छ। तर चुनाव नै गठबन्धनको आधारमा हुने हो भने राम्रा मान्छे कहिले पनि जनप्रतिनिधीको रुपमा आउँदैनन। यो त कसैको बाटो छेक्ने कुरा मात्र हो।
सरकार पनि गठबन्धनमै चल्ने चुनावमा पनि गठबन्धनकै आधारमा लड्ने भएसी पार्टी एकिकरण नै गरे भयो नि त। किन छुट्टा छुट्टै पार्टी भनेर हिंड्नु? छुट्टाछुट्टै पार्टी भनेर सबैले पद बाडेर खानु भनेको सरासर राजनैतीक ठगी हो।
राजनीति भनेको जसरी पनि चुनाव जित्नु हो, सत्तामा पुग्नु हो भनेर व्याख्या गर्नेहरुले अहिले हुँदै गरेको गठबन्धनको अभ्यासलाई जायज भनेर बचाउ गर्ने छन। तर राजनिती भनेको एउटै चुनावको हार वा जितमा निर्भर हुँदैन, यो त निरन्तर चल्ने प्रकृया हो। जनताको मन जितेर निर्वाचित भई जनताकै लागि नितीगत रुपमा राज्य सन्चालन गर्नु नै राजनीति हो भनेर बुझ्नेहरुको लागि अहिले चर्चामा आएका बेमेलको गठबन्धन कदामी मान्य हुनु हुँदैन।
गठबन्धनले चुनावी नतिजा क्षणीक रुपमा राम्रो ल्याए पनि चुनाव पछि शक्ति बांडफांडको बेलामा गठबन्धनमा समावेश भएका सबै पार्टीले आफ्नै पार्टीको कारणले बहुमत आएको भन्ने घमण्डले दुई तिहाइ धान्न नसकेको नियती त ताजै छ। एउटा पदको लागि सिङ्गो पाटी फुटाउनेले त्यही नियती पुन: दोहोर्याउदैनन भनेर सोच्नु पनि मूर्खता हुनेछ।
जुन व्यबस्था परिवर्तन गर्नको लागि सर्वसाधारणलाई महिनौं सडकमा उतारी, हजारौं सरकारी संरचना ध्वस्त पारीयो अहिले उही पुरानै व्यबस्थाको पक्षधर पार्टी र परिवर्तित व्यबस्थाका पक्षधर पार्टी विचको होस् या टाउकोको मुल्य तोक्ने र घांटी छिनाउने विचको होस्, गठबन्धनको नाममा सत्ता केन्द्रीत स्वार्थी प्रेमको परिणाम स्वरुप लङ्गडो सन्तानको रुपमा अस्थीर स्थानीय सरकारको जन्म हुनेछ। दलहरु सोही अपाङ्ग सन्तानको रुपमा प्राप्त सरकार बचाउने प्रयास गर्दा गर्दै ५ वर्षे कार्यकाल पूरा गर्नेछन। उक्त अपाङ्ग सन्तान बचाउने मूल्य सर्वसाधारणले चुकाउने छन। एक त सैद्दान्तिक र नितिगत प्रस्ताव आउने छैनन आयो भने पनि सत्ता साझेदारीका पार्टीहरुले सरकार जोगाउने चक्करमा कसैले पनि कसैको नितीगत प्रस्तावमा समर्थन जनाउने छैनन। अर्थात आगामी ५ बर्ष गठबन्धनका पार्टीहरुले बिकास निर्माणका कुनै पनि कार्य गर्न सक्ने छैनन।
गठबन्धनको नाममा देश र जनता लुट्ने जुन प्रयास भैरहेको छ त्यसमा जनता सचेत नभए सम्म जनता यसरी बर्षौं सम्म लुटिने छन। व्यक्तिगत लाभका कारण नेतृत्वले पार्टी भित्र ह्वीप लाउने, पार्टीका कार्यकर्ता हुँ भन्नेहरु नेतृत्वले जे निर्णय गरे पनि प्रश्न सम्म गर्ने आंट गर्न नसकी पार्टीको निर्णय भन्दै शिरोपर गर्ने कार्यकर्ताहरु न कार्यकर्ता बाट नेता हुन सक्छन न जनता बाट नागरिक नै हुन सक्नेछन।
तसर्थ, गठबन्धनको नाममा लादिएका उम्मेदवारलाई नभै उम्मेदवारको क्षमता र योग्यताका आधारमा आफुले चाहेको उमेदवारलाई मतदान गरी असल नागरिकको कर्तव्य पूरा गरौं।
राजेन्द्र शर्मा(नेपाल प्रेमी)
पंक्तिकार जनसम्पर्क समिती नेदरल्याण्ड्सका निवर्तमान महामन्त्री तथा सामाजिक अभियान्ता हुन।