काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले भोलि संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् ।
उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उक्त पार्टीका महासचिव कमरेड विप्लवले सम्बोधन गर्नुहुनेछ,” वार्ता समितिका संयोजकद्वय रामबहादुर थापा बादल र प्रकाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ ।
सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ । हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।