बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२० का उपविजेता सेफ सन्तोष साह सम्मानित

काठमाडौं -जीएनएन , बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२० का उपविजेता सेफ सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । सेफ सन्तोषलाई बोर्डले मंगलबार सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाली खानालाई विश्व जगतमा चिनाएकोमा सेफ सन्तोषलाई धन्यवाद दिए ।

सचिव कोइरालाले नेपाललाई यसरी नै विश्वमा चिनाउन सकेको खण्डमा मात्रै नेपालको पर्यटनले सार्थकता पाउने बताए । उनले आफ्नो पहिचानलाई विश्व भरि चिनाउन सेफ सन्तोषबाट सिक्नुपर्ने तर्क गरे ।

विश्व चर्चित सेफ सन्तोषले नेपाली भएको नाताले आफुले नेपाल चिनाउने कोसिस गरेको बताउँदै एउटा भान्छेलाई सम्मान गर्ने नयाँ नेपाल आफुले पाएको बताए । सेफ सन्तोषले हरेक नेपालीले आफु मात्रै होइन नेपाललाई पनि चिनाउन तयार हुनुपर्ने बताए ।

उनले विश्व बजारमा नेपाली खाना चिनाउन योमरी लगायतका खानाले महत्वपूर्ण भूमिका खेलेको जिकिर गरे ।  सिराहा जिल्लाको कर्जनाहामा जन्मिएका साह गत १० वर्षदेखि बेलायतमा बस्दै आएका छन् । बिहीबार मात्रै काठमाडौं आएका उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

Please follow and like us: