गोकर्ण अधिकारी टोकियो, जीएनएन जापान
जापान प्रवेश गर्न चाहने विदेशी यात्रुहरूले कम्तीमा अर्को महिनासम्म कुर्नुपर्ने भएको छ । आपतकाल विस्तारको पछिल्लो निर्णयसहित नयाँ भिषा वाहकको प्रवेशमा जापानले मार्च ७ तारिखसम्म प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो ।
मंगलबार प्रधानमन्त्री सुगा योशिहिदेले राजधानी टोकियो सहित १० प्रिफेक्चरमा आपतकाल विस्तारको घोषणा गरेका थिए । सरकारले परिवर्तित कोरोना भाइरस देखा परेका मुलुकबाट फर्केका नागरिकहरू र त्यहाँका बासिन्दाका लागि अलग्गै नियमहरू पनि परिमार्जन गरेको छ जुन हाल संक्रमण भईरहेका भन्दा छिटो संक्रमण फैलाउनसक्ने क्षमताको भएको विज्ञहरुले बताएका छन् ।
पछिल्ला परिवर्तित नियमानुसार शुक्रवारबाट लागू हुने गरी आयरल्याण्ड, इजरायल र ब्राजिलको केही भागबाट जापान फर्कने व्यक्तिले कडा नियमहरु अनुशरण गर्नुपर्नेछ । विद्यमान नीतिले ति मुलुकबाट जापान आगमनमा प्रतिबन्ध लगाएको छ । केवल जापानको आवाशिय भिषा प्राप्त तथा जापानी नागरिकहरुलाई मात्र देशमा प्रवेश गर्न अनुमति दिईएको छ ।
मार्च ७ तारिखपछि विकसित अवस्थालाई हेरेर नीतिमा परिवर्तन हुनसक्ने बताईएको छ । प्रतिबन्धको नियमानुसार सबै नयाँ भिषा आवेदकहरुको प्रवेश निशेध छ । जसमा विद्यार्थी, आश्रित डिपेन्डेन्ट भिषा लगायतका साथै व्यवसायी यात्रीहरुलाई पनि प्रवेशमा रोक लगाईएको छ । जापानले दक्षिण कोरिया, थाईल्याण्ड, भियतनाम सहित ११ देशहरूसँग गरेको व्यापारिक भिषा वाहक प्रवेशको सहज नीतिलाई समेत हाल स्थगित गराएको छ । प्रतिबन्धहरू ती व्यक्तिहरूमा पनि लागू हुनेछ जसले भिषा प्राप्त गर्न योग्यता पुर्याएर ईलिजिबिलिटि योग्यता पत्र लगायत कागजात प्राप्त वा पेश गरिसकेका थिए ।
सामान्यतया, त्यस्ता योग्यता पत्र प्राप्त गर्ने व्यक्तिहरुले जापान प्रवेशको अनुमति पाउने गर्दछन् । परराष्ट्र मन्त्रालयका अनुसार आपतकालीन अवस्थामा प्रवेश चाहने व्यक्तिको लागि यात्रा प्रतिबन्धमा अपवाद हुन सक्छ । हाल कुनै पनि देशबाट जापान प्रवेश गर्ने योजनामा रहेका व्यक्तिले उनिहरुमा कोरोना भाइरस संक्रमण नरहेको पुष्टि गर्ने स्वास्थ्य परीक्षणको कागजात पेश गर्नुपर्दछ । त्यस्तो परीक्षण जापान प्रवेशको ७२ घण्टा भित्रको हुनुपर्दछ । यस बाहेक जापान आईपुगेपछि बिमानस्थलमा उनिहरुको पुन कोरोना परीक्षणको पीसीआर चेकजाँच गरिन्छ । संक्रमण नभएको पाईएमा उनिहरुले अनिवार्य १४ दिन होम क्वारिन्टिनको नियम कडाईका साथ पालना गर्नुपर्छ ।
यद्यपि परिवर्तित नयाँ कोरोना भाइरस संक्रमण फेला परेका देश तथा क्षेत्रका यात्रुहरू सरकारले तोकेको सुविधामा तीन दिनसम्म अलग्गै बस्नु पर्छ र तेस्रो दिनमा फेरि परीक्षणको लागि आउनु पर्छ । शुक्रवार देखि आयरल्याण्ड, इजरायल र ब्राजिलको अमेजन राज्यबाट आएका व्यक्तिहरू यस नियममा बाँधिनेछन् । जुन नियम बेलायत र दक्षिण अफ्रिकाबाट आउने यात्रीहरूमाथि लगाइएको थियो । परीक्षण गर्दा संक्रमण नपाईएका यात्रीहरु १४ दिन होम क्वारिन्टिन वा तोकिएको नीजि आवाशिय सुविधा भएको ठाउँमा बस्नुपर्नेछ ।
उनीहरूले सार्वजनिक यातायात प्रयोग गर्न पाउनेछैनन् । जापान प्रवेश गर्ने सबै देशका यात्रुहरूका लागि एयरपोर्टबाट घर जानको लागि निजी कारहरू, विशिष्ट रेल तथा केही सिमित बस प्रयोगको विकल्पहरु रहेका छन् । जापान सरकारले घोषणा गरेका नियम तोड्ने यात्रुहरूले कानूनी कारवाही भोग्नुपर्नेछ । यस्तो कारवाही अन्तर्गत उनिहरुको नाम सार्वजनिक गरिने छ । देश तथा राष्ट्रियता खुलाउने देखी उनिहरुको जुनसुकै भिषा भएको भएपनि खारेज गरेर देश फिर्ता समेत पठाउने अधिकार अध्यागमन अधिकारीहरुलाई दिईएको छ ।
त्यसैले जापानले एयरपोर्ट अध्यागमनमा उल्लेखित नियमहरुलाई जापान प्रवेश गर्ने वित्तिकै पालना गर्ने लिखित सम्झौतामा हस्ताक्षर गराएर मात्र प्रवेश दिने गरेको छ । थप रूपमा, कोरोना भाइरस विशेष उपाय कानूनमा संशोधन पारित भएपछि फेब्रुअरी १३ देखि अधिकारीहरूले कानून उल्लंघन गर्ने व्यक्तिलाई जरिवाना समेत तिराउन सक्नेछन् ।
यसले अधिकारीहरूलाई तोकिएका सुविधाहरूमा क्वारिन्टिन वा सेल्फ आईसोलेसनमा बस्न अस्वीकार गर्नेहरूलाई दण्ड सजाय तिराउन अनुमति दिनेछ । नियम पालना नगर्ने वा अटेरी गर्नेहरुलाई १ बर्ष जेल कारावासको सजाय वा १० लाख येन जरिवाना तिराईनेछ ।
बेलायतमा पहिलो पटक पहिचान गरिएको परिवर्तित संक्रामक कोरोना भाइरसको नयाँ संस्करण फेला परेपछि जापान सरकारले डिसेम्बरको अन्तबाट आफ्नो यात्रा प्रतिबन्धहरूमा कडाई गर्दै लगेको छ ।