राष्ट्रियता
कविता
हिजो कालापानी दुख्यो आज सुस्ता दुख्दैछ रे
कञ्चनपुरको दुखाइ उस्तै देशको सीमा लुक्दैछ रे
कञ्चनपुर दुख्दादुख्दै भैंसालोटन फेरि दुख्यो
कोशीकाली छँदै थियो हँुदाहँुदा अरु दुख्यो ।।
पूर्वतिर मेची दुख्छ पश्चिम महाकाली उस्तै
अनगिन्ती खुला नाका दुखाइका कथा सस्तै ।
गाउँ फक्र्यो बाढी आयो बस्ती जति चुर्लुम्मै छ
बस्न खान कता जाने सपना गल्र्यामगुर्लुम्मै छ ।।
लालपुर्जा भन्नु पनि कागजी बाघसरि भयो
हामी खेती लगाउँछौ अर्कैलाई मस्ती भयो ।
देश छ पनि के भनौं खै शरणार्थी भेषमा बस्दा
आँखा सामु विदेशी आई डकैतीझैं सबै लुट्दा ।।
टुलुटुलु हेर्नुपर्दा गहभरि आँसु डम्मै
कुरा के छ बुझ्ने भन्दा चेपारे मुख घस्ने जम्मै ।
भनौँ भने कस्लाई भनौँ मनका पीडा व्यथाहरु
सरकार पनि सुन्ने होइन विस्थापितका कथाहरु ।।
सच्चा मित्र जस्लाई भन्यौं विस्तारवादी पो ऊ रै’छ
अनेकबाजि बहानामा लुटको खेल खेल्दो रै’छ
छिमेकीको छटपटीमा बहुलट्टीपन कैलेसम्म
सच्चा मित्र यदि भए लुटेको खेल खेल्नु हुन्न
सुत्दा दुख्छ उठ्दा दुख्छ बस्दा खाँदा दुख्छ कठै !
कठै मात्र होइन अब वार्ता थालौं बसौं छिटै ।
होइन भने दुइ ढुङ्गाको बीचको बमझँै पड्किनेछ
तिम्रो देशमा पनि हत्या हिंसा छिटै भड्किनेछ ।।
लुम्बिनीमा दुख्यो केही यस्तै अन्य बाँधहरुमा
झापा इलाम पर्सा अनि बर्दियाका साँधहरुमा ।
पूर्व पश्चिम नेपालका सयौं ठाउँ मिचिसक्यो
देश खुम्च्यो खुम्च्यौं हामी बेला अब बितिसक्यो ।।