नेदरल्यान्ड्सका परराष्ट्र उपमन्त्री मार्सेल डी भिन्क र परराष्ट्र सचिव भरतराज पौड्यालबीच भेटवार्ता

नयाँ कुरा ,बुधबार,१, फेब्रुअरी ,

परराष्ट्र सचिव भरतराज पौड्यालले नेपाललाई अन्तर्राष्ट्रिय सहयोगका लागि प्राथमिकता दिने देशको सूचीमा राख्न नेदरल्यान्ड्सलाई आग्रह गरेका छन् । यूरोप भ्रमणमा रहेका परराष्ट्र सचिव पौड्यालले मंगलबार नेदरल्यान्ड्सको सहर हेगमा त्यहाँका परराष्ट्र उपमन्त्री मार्सेल डी भिन्कसँग भेटवार्ताका क्रममा उक्त आग्रह गरेका हुन् ।

बेल्जियमस्थित नेपाली दूतावासका अनुसार भेटवार्तामा दुई पक्षबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । विगतमा नेपालसँग मानव संशाधन र ग्रामीण विकासका क्षेत्रमा भएको उल्लेखनीय सहयोगको बारेमा उल्लेख गर्दै सचिव पौड्यालले मानव संशाधन विकास नेपालको प्रमुख प्राथमिकताको क्षेत्र भएकाले बताएका थिए । उनले नेदरल्यान्ड्स सरकारबाट भइरहेको सहयोगलाई निरन्तरता दिन पनि आग्रह गरे ।

नेदरल्यान्डस्‌का उपमन्त्री भिन्कले नेपालको विकास आकांक्षाको प्रशंसा गरेका थिए । उनले नेदरल्यान्ड्सबाट सहयोग गर्ने आश्वासन दिए । उनले नेदरल्यान्ड्सको विश्वव्यापी दृष्टिकोण, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी रणनीतिबारे पनि जानकारी दिएको दूतावासले जनाएको छ ।

उक्त भेटवार्तामा नेपालबाट बेल्जियम र इयूको लागि नेपाली राजदूत गहेन्द्र राजभण्डरी र सहसचिव सेवा लम्साल लगायत थिए ।

कान्तिपुरमा प्रकाशित बाट सभार

Please follow and like us: