गैरआवासीय नेपाली नागरिकता सम्बन्धी कानून आउनु उपलब्धिमूलक : संस्थापक अध्यक्ष महतो

जुलाई ३१ ,आईतबार ,काठमाडौँ (जीएनएन) –

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने गरी नयाँ कानून आउनु उपलब्धिमूलक रहेको बताएका छन् ।

‘गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता दिने कुरा संविधानमा लेख्ने बेलामै हामी खुसी भएका थियौं। तर लामो समयसम्म ऐन आउन नसक्दा यो सदुपयोग हुन सकेको थिएन। ‘एक पटकको नेपाली सधैंको नेपाली भन्ने मूल मर्म अनुरुप आगामी दिनमा यो अरु बढी रुपान्तरित हुँदै जानेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने। ‘यो आफैमा पुरा होइन, त्यसैले कुनै पनि बन्देज विनाको गैरआवासीय नेपाली नागरिकताको निरन्तरताको लागि हाम्रो अभियान जारी रहनेछ,’ उनले भने। संस्थापक अध्यक्ष डा. महतोले जर्मनी, जापान जस्ता दोहोरो नागरिकता नदिने मुलुकमा रहेका गैरआवासीय नेपालीहरुलाइ पनि सरकारले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘पिपल अफ नेपाली अरिजिन’ (पिएनओ) कार्ड दिनु पर्ने बताए।

‘नेपाल सरकारले एनआरएनहरुलाई लगानीमा पनि सहुलियत दिएको छ। त्यसै डलर एकाउन्ट खोल्न पनि सुविधाहरु दिएको छ। अब सबै एनआरएनहरुले मातृभूमिका लागि बोलेर हैन, गरेर देखाउने बेला आएको छ ,’ डा. महतोले भने । ‘गैरआवासीय नेपाली नागरिकताले हाम्रो इज्जत बढाएको छ’ यसै गरी संघका एकजना संस्थापक तथा नेपाली नागरिकता निरन्तरता कार्यदलका पूर्व संयोजक तथा पूर्व संरक्षक राम प्रताप थापाले पनि संसद्को दुवै सदनबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित भएकोमा त्यसको स्वागत गरेका छन्।

‘नेपालको संविधान २०७२ मा गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता दिने भनेर राखेको प्रावधानले हाम्रो इज्जत बढाएको छ। ढीलै भए पनि उक्त प्रावधान कार्यान्वयन हुन लागेकोमा खुसी लागेको छ,’ उनले भने। ‘यसले एनआरएनहरुको नेपाल मा रहेको सम्पत्ति को रक्षा हुन्छ र नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण बन्छ, अब नागरिकता संगसंगै सरकारले राहदानी (पासपोर्ट) पनि दिनु पर्छ ।‘ ‘हामीले माग गरेको त नेपाली नागरिकताको निरन्तरता नै हो, तर कानून अनुसार प्राप्त हुने कुरा उपभोग गर्दै जानु पर्छ र थप अधिकारको लागि लबी गर्नु पर्छ,’ थापाले भने।

यसै गरी संघका संस्थापक मध्ये एक नरेश कोइरालाले झन्डै दुइ दशकको प्रयास पछि कानूनी रुपमा गैरआवासीय नेपालीहरुलाई नागरिकता सम्बन्धी अधिकार प्राप्त भएकोमा खुसी व्यक्त गरे। ‘सैद्धान्तिक रुपमा यत्रो वर्षको मेहनत पछि जुन अधिकार प्राप्त भएको छ, सन्तोष लिने आधार छ। तर एनआरएनहरुलाई राजनीतिक अधिकार नदिइनु चाहिं निराशाजनक छ,’ उनले भने। हाल क्यानाडामा बसोबास गर्ने वरिष्ठ इन्जिनियर कोइराला एनआरएनहरुलाई नेपालको समग्र विकासमा सहभागी गराउने हो भने राजनीतिक अधिकार पनि दिनु पर्ने बताउंछन्।

‘नेपालसंग एनआरएनहरुको सम्बन्ध बलियो बनाउन एउटा नियमनकारी संयन्त्र पनि बनाउनु पर्छ,’ उनले भने। सन् २००३ मा स्थापना भए देखि नै गैरआवासीय नेपाली संघले नेपाली नागरिकताको निरन्तरता भन्दै विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि दोहोरो नागरिकताको माग गर्दै आएको थियो। तर नेपालको भूराजनीतिक संवेदनशीलताका कारण दोहोरो नागरिकता दिन सम्भव नहुने नेपाली नेताहरुले बताए पछि सन् २०१५ मा जारी नेपालको संविधानमा पहिलो पटक गैरआवासीय नेपालीहरुका लागि नागरिकताको प्रावधान राखिएको थियो।

त्यसको झन्डै सात वर्ष पछि मात्रै उक्त प्रावधान कार्यान्वयनमा आउन लागेको छ। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाबाट पारित भै सकेको उक्त विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण भए पछि कानून बन्ने छ।

Please follow and like us: