संस्थापन पक्षले एनआरएनए फुटाउन खोजिरहेको छ : नारायण आचार्य

काठमाडौं (जीएनएन) – सोमबार ,
गैरआवासीय नेपाली संघ (एनआरएनए) का युरोप क्षेत्रीय संयोजक नारायण प्रसाद आचार्यले संघभित्रको विवाद मिलाउन बनेको शेष घले नेतृत्वको उच्चस्तरीय कार्य दलले काम गरिरहेको अवस्थामा संस्थापन पक्षले एकलौटी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउनु शुभ संकेत नभएको बताएका छन् ।
‘उच्चस्तरीय समितिले विभिन्न देशमा कायम रहेको विवाद समाधानका लागि काम गरिरहेको छ । यस्तो अवस्थामा धमाधम निर्वाचन कार्यक्रम अघि सार्नु भनेको संघलाई विभाजनतिर लैजानु हो ।
यसबाट उहाँहरु (संस्थापन पक्ष) संघको फरक फरक अधिवेशन चाहिरहनु भएको भन्ने बुझिन्छ ।’ दशौं महाधिवेशनबाट नेतृत्व चयनका लागि गरिने मतदानमा एमआइएस प्रणालीमार्फत ‘फेसियल रिकग्निशन’(सेल्फी) प्रविधि अनिवार्य गर्ने काम संघ कब्जा गर्ने नियत भएको भन्दै दशौँ महाधिवेशनमा सचिव पदका उम्मेदवार समेत रहेका आचार्यले भने,‘यतिबेला एनआरएनएमा विश्वासको संकट देखिएको छ ।
एमआइएस प्रणालीमार्फत सेल्फी लिने प्रक्रियामा विश्वास गर्नै सकिदैन । यो हामीलाई मान्य छैन ।
 ‘एमआइएस प्रणालीको दुरुपयोग गरिएका कैयौं प्रमाणहरु फेला परिरहेको र छानविन भइरहेको परिप्रेक्ष्यमा सेल्फी अनिवार्य गर्नु भनेको संस्था विभाजित गर्ने प्रयास हो,’ उनले भने,‘यतिबेला कुमार पन्त नेतृत्वको संस्थापन पक्ष संघ फुटे फुटोस् भन्नेमा हुनुहुन्छ ।
उहाँहरुको गतिविधिले त्यस्तै संकेत गरेको छ ।’ उनले फेरि सेल्फी लिनुपरे पुनः नयाँ प्रक्रिया वा तेस्रो कम्पनीले नयाँ संकलन गर्नुपर्ने पनि बताए ।
एनआरएनएको विधानमा वैकल्पिक प्रतिनिधिको व्यवस्था नभएकाले विधानमै नभएको व्यवस्थालाई संस्थापन पक्षले अघि बढाउन नपाउने संयोजक आचार्यले बताए।
सस्थापन पक्ष आफ्नो निर्णय नै विधान हो भन्ने भ्रममा हुनुहुन्छ । त्यो कसरी हुनसक्छ ? उहाँहरु त संस्था विभाजित होस् भन्ने रणनीतिमा अघि बढ्नुभएको छ ।
एनआरएनएको विधानमा ६ महिना कार्यकाल थपिदा पनि अधिवेशन गराउन नसके संरक्षक परिषदले काम गर्ने वा परराष्ट्र मन्त्रालयले संस्था जोगाउन पहल गर्न पाउने वैधानिक व्यवस्था भएकाले सोही अनुसार काम हुनुपर्ने उनको सुझाव छ ।
आचार्यले भने,‘विश्वका ८० प्रतिशत देशका एनआरएनहरु वर्तमान कामचलाउ समितिसंग असन्तुष्ट छन् । पेलेर जाने प्रयास जारी राखे हामी समानान्तर अधिवेशन गरेर अघि बढ्छौं ।
८० प्रतिशत एनसीसीको साथ लिएर बहुमत दिलाउँछौं ।’ निर्वाचन समितिको तर्फबाट २३ फेब्रुअरीमा जारी गरिएको विज्ञप्तिमा सेल्फी खिच्ने र आफ्नो विवरण २४ फेब्रुअरी अर्थात् बिहीबार नेपाली समय अनुसार मध्यरातसम्म थप गरिएको भनिए पनि विवरण उपलब्ध गराउन र प्रतिनिधि शुल्क बुझाउन अधिकांश एनसीसीहरुले आनाकानी गरेका छन् ।
एनआरएनएको निर्वाचन आगामी २१ र २२ मार्चमा अनलाइनबाट हुने भनिए पनि महाधिवेशन उद्घाटन हुनेमै शंका उत्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाविधेशनका लागि निर्वाचन समितिले एकलौटी रुपमा निर्वाचन कार्यक्रम अघि बढाएपछि संघ इतिहासकै गम्भीर मोडमा पुगेको छ ।
विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद कायम विवाद समाधान नगरी संस्थापन पक्षको दबाबमा निर्वाचन समिति अघि बढेपछि संघको महाधिवेशनको वैधानिकताबारे गम्भीर प्रश्न उठेको हो ।
Please follow and like us: