प्रा. सूर्य प्रसाद सुवेदीले गरे आफ्नो निजी पुस्तकालय र दश लाख रुपैयाँ नेपाल ल क्याम्पसलाई दिने घोषणा

लण्डन (जीएनएन) बिहीवार ,

बेलायतमा विगत तीस वर्ष देखि अन्तर्राष्ट्रिय कानून र मानव अधिकार प्राध्यापन गर्दै आएका प्रा. डा. सूर्य प्रसाद सुवेदीले आफुले प्रकाशन गरेका र विद्यार्थी जीवन देखि संग्रह गरेका अन्तरराष्ट्रिय कानून र मानव अधिकार सम्बन्धि बहुमूल्य पुस्तकहरु सहित दश लाख रुपैयाँ नगद त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसलाई प्रदान गर्ने घोषणा गरेका छन।

बेलायतको हल विश्वविद्यालयवाट विशिष्ट श्रेणीमा प्रथम भै स्नातकोत्तर र अक्सफोर्ड विश्वविद्यालयवाट विद्यावारिधि र महाविद्यावारिधि जस्ता उपाधि हासिल गर्दा आफुले अध्ययन गरेका र प्राध्यापनका लागि आफुले संकलन गरेका ग्रन्थहरु प्रा. सुवेदीले आफुले कानूनमा स्नातक गरेको संस्था नेपाल ल क्याम्पसलाई दिने निधो गरेका हुन्।

उनले ती सबै पुस्तक आफ्नै खर्चमा नेपाल पठाउने पनि जनाए । लीड्स, लण्डन र अक्सफोर्ड लगायत संसारका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका प्रा. सुवेदीको निजी संकलनमा रहेका अन्तरराष्ट्रिय स्तरका यस्ता ग्रन्थहरुले नेपालका वर्तमान र भावी पुस्ताका छात्र/छात्राहरु लाभान्वित हुने उनले आशा गरेका छन्।

उनले प्रदान गरेको दश लाख रुपैंया नगद सहयोगलाई नेपाल ल क्याम्पसको मुद्दती खातामा जम्मा गरि त्यसको वार्षिक व्याजबाट प्रत्येक वर्ष नयाँ-नयाँ ग्रन्थहरु नेपाल ल क्याम्पसको पुस्तकालयमा थप्दै जाने व्यवस्था पनि गरिएको छ। प्राज्ञिक उन्नयनमा सघाउन अमूल्य सहयोग प्रदान गरेको भन्दै नेपाल ल क्याम्पसले प्रा. सुवेदीलाई हार्दिक धन्यवाद दिएको छ।

Please follow and like us: