‘ग्लोबल एनआरएन सिंगिङ आइडल: पहिलो संस्करणलाई ऐतिहासिक रुपमा सफल बनाऔं’

दोहा, १६ वैशाख – गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्यासिफिकका उपक्षेत्रीय संयोजक पारसमणि पोखरेलले ग्लोबल एनआरएन सिंगिङ आइडलले दोस्रो पुस्ताका प्रवासी नेपालीलाई नेपालको नजिक ल्याउन मद्दत गर्ने बताएका छन्।

गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलका सन्दर्भमा आयोजित छलफललाई सम्बोधन गर्दै पोखरेलले परदेशमा रहेका नेपालीहरूमा नेपालीपन कायम राख्न यो सांगीतिक कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरेका हुन्।

‘प्रवासी नेपालीलाई नेपालसँग जोड्ने ३ माध्यम छन्, पहिलो बौद्धिक कार्यक्रम, जस्तै स्पिच कन्टेस्ट, दोस्रो गीत–संगीत र तेस्रो खेलकुद, यी माध्यमले परदेशी नेपालीलाई आफ्नै देशको माटोसँग जोड्न मद्दत गर्छ, पहिलो संस्करण ऐतिहासिक रुपमा सफल बनाऔं,’ पोखरेलले भने। सिंगिङ आइडलको अवधारणाबारे जानकारी पाउने बित्तिकै आफू उत्साहित भएको पनि संयोजक पोखरेलले स्मरण गरे।

‘कार्यक्रमबारे थाहा पाएपछि म निरन्तर यसमा लागिरहेको छु, युवा विभागका संयोजक राज रेग्मीजीसँग सहकार्य गरिरहेको छु, कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउन सकेसम्मको प्रयास गरिरहेका छौं,’ पोखरेलले भने। पहिलो संस्करणलाई सफल बनाउन सके पछिल्ला संस्करणहरू अझै प्रभावकारी र उत्कृष्ट बनाउन सकिने पोखरेलका धारणा छ।

प्रतियोगिताका लागि आवश्यक सहयोग गर्न एशिया प्यासिफिक क्षेत्र पूर्णरुपमा तत्पर रहेको विश्वास पोखरेलले दिलाएका छन्।

Please follow and like us: