संगीतमार्फत् विश्वभरिका नेपाली एक हुने अवसरः ग्लोबल एनआरएन सिंगिङ आइडल

’ दोहा – गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले ग्लोबल एनआरएन सिंगिङ आइडल महत्त्वपूर्ण र ऐतिहासिक प्रतियोगिता भएको बताएका छन्। श्रेष्ठले विदेशमा रहेका सबै नेपालीहरूलाई समेट्न गायन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलका सन्दर्भमा आयोजित छलफललाई सम्बोधन गर्दै श्रेष्ठले प्रतिभा भएर पनि अवसर नभएका प्रवासी नेपालीका लागि यो ठूलो अवसर भएको बताएका हुन्। ‘ग्लोबल एनआरएन सिंगिङ आइडल विश्वभर रहेका नेपालीहरूले महत्त्वका साथ हेरिरहेका छन्, पहिलो संस्करण त शुरुआत मात्र हो, यसले आगामी वर्षहरूमा पनि निरन्तरता पाउनुपर्छ, र राम्रा प्रतिभा जन्माउनुपर्छ,’ श्रेष्ठले भने।

एनआरएन आइडल प्रतियोगिताले गीत गाउने मात्र नभएर विदेशमा रहेका सबै नेपालीहरु समेट्ने श्रेष्ठको विश्वास छ। ‘विदेशमा बसेर कला देखाउन नपाएका नेपाली दाजुभाई दिदिबहिनीहरूका लागि यो अवसर हो, यो ऐतिहासिक अवसरको भरपुर सदुपयोग गर्न म प्रवासमा रहेका नेपालीहरूलाई अनुरोध गर्दछु,’ उनले भने। कोषाध्यक्ष श्रेष्ठले ग्लोबल एनआरएन सिंगिङ आइडल प्रतियोगिता भविष्यमा आम्दानीको राम्रो स्रोत पनि बन्न सक्ने बताएका छन्। प्रतियोगितालाई एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदले पूर्ण रुपमा सहयोग गर्ने श्रेष्ठले बताए।

पहिलो संस्करण भएकाले सिंगिङ आइडलको ऐतिहासिक महत्त्व हुने उनको तर्क छ। ‘पहिलो सिजनको विजेता हो भन्न पाउनु पनि गर्वको कुरा हो, टेक्नोलोजीको माध्यमबाट घरमा बसीबसी अवसरको फाइदा लिन सकिन्छ सबैलाई सहभागी हुन म आग्रह गर्दछु,’ श्रेष्ठले भने।

Please follow and like us: