रुपन्देहीको बुटवलस्थित बमघाटदेखि वसन्तपुर डाँडासम्म केबलकार शिलान्यास

काठमाडौं (जीएनएन) –

रुपन्देहीको बुटवलस्थित बमघाटदेखि वसन्तपुर डाँडासम्म केबलकार सञ्चालन हुने भएको छ ।

लुम्बिनी केबलकार प्रालिले निर्माण गर्न लागेको बमघाट–वसन्तपुर डाँडा लुम्बिनी केबलकारको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बमघाटमा शिलान्यास गरे ।

बुटवल उपमहानगरपालिका, ३ गोलपार्कस्थित बमघाटमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले लुम्बिनी केवलकारको शिलान्यास गरेका हुन् । केबलकारको दूरी तीन किलोमिटर रहने प्रालिका एक सञ्चालक एवम् नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अम्बिकाप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार यो केबलकारको निर्माण एक वर्ष भित्र पूरा गरिने छ ।

कम्पनीले बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण गर्ने जनाएको छ। काठमाडौंको चन्द्रागिरी केबलकार प्रालिसँगको सहकार्यमा नै लुम्बिनी केबलकार निर्माण गरिने जनाइएको छ । शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रबाट हुन थालेको यो आयोजनालाई सहयोग गर्न सरकार तयार रहेको बताए ।

सोही समारोहमा अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा निर्माण हुन लागेको केबलकारले यस क्षेत्रमा पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बताए । समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालकै एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप यो आयोजना शुरु गरेको बताए ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष पनि रहेका ढकालले नेपालमा लगानीका लागि तीनवटै तहका सरकारको तर्फबाट निजी क्षेत्रलाई सहजीकरण गरिदिने र राज्य–निजी क्षेत्र साझेदारी नीतिलाई नेपाल सरकारले ठोसरुपमा व्यवहारमा उतार्ने हो भने देशभर लगानीको वातावरण बन्न गई छोटो समयमा विकासको राष्ट्रिय लक्ष्य प्राप्त हुने बताए ।

Please follow and like us: