जापानी खाना प्रतिस्पर्धामा नेपालका बसन्त फाईनलिष्ट बन्न सफल

टोकियो, जापान ,

जापान सरकारले आयोजना गरेको जापानी खाना बनाउने प्रतिस्पर्धामा नेपाली युवा उत्कृष्ठ सेफ बन्न सफल भएका छन् ।

जापान सरकार कृषि, वन तथा मत्स्य मन्त्रालयले आयोजना गरेको वासोकु वर्ल्ड च्यालेन्जमा विश्वका ४१ देशका प्रतिस्पर्धीलाई उछिन्दै नेपालका बसन्त राई उत्कृष्ठ ६ सेफमा पर्न सफल हुनुभएको हो ।

ब्राजिल, चीन, ताईवान, कुवेत, अमेरिका, ईण्डिया, बेलायत सहित ४० देशका १९९ जना सेफहरुले प्रतिस्पर्धा गरेको जापानको अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा एकमात्र नेपाली प्रतिस्पर्धी उत्कृष्ठ बनेका हुन् । मौलिक जापानी खाना बनाउने प्रतिस्पर्धामा एकपटक पनि जापान नआएका वा भनौं भौतिक रुपमा नदेखेका नेपाली युवा कसरी उत्कृष्ठ जापानी खाना बनाउन सफल भए ? यसै बारेमा जापानसमाचारडटमका गोकर्ण अधिकारीले राईसँग गरेको संक्षिप्त कुराकानी जापान सरकारले छैटौं पटक यो वासोकु वर्ल्ड च्यालेन्ज आयोजना गरेको रहेछ ।

जापान सरकार तथा जापानी खानामा काम गर्ने सेफहरुले विश्वभर जापानी खाना बनाउने सेफहरु पहिचान गरेर उनिहरुलाई प्रतिस्पर्धामा सहभागी हुन सहयोग गर्दै आएका रहेछन् । प्रतिस्पर्धा बारेमा मैंले पनि लिंक्डइन सामाजिक संजाल मार्फत त्यो जानकारी पाएं । दुबईमा रहेको समयमा त्यो जानकारी पाएपछि मैंले पनि जापानी खानाकै सेफको रुपमा काम गरिरहेकाले प्रतिस्पर्धा गर्ने सोच बनाएं ।

त्यसको लागि अनलाईन मार्फत जापानी खाना पान सिरेड सिबास विथ मिसो बटर सस र जापानिज फ्युजन सिभिज सलाद तयार पारेर अप्लाई गरें । यसरी खाना बनाउँदा के कुरा कति मात्रामा मिलाएको र कसरी बनाएको विस्तृत जानकारी गराउनु पर्दथ्यो । मैंले सबै कुरा मागे अनुसार तयार पारेर पठाएं । जसमा म उत्कष्ट १५ भित्र पर्न सफल भएं । त्यो खवर पाउँदा म औधी खुशी भएं । अब प्रतिस्पर्धा झन कठिन हुने देखियो ।

मलाई न जापानी भाषा आउने न त म कहिल्यै जापान नै गएको थिएं । तर जापानी सेफहरुले मलाई धेरै सहयोग र हौसला दिनुभयो । उत्कृष्ठ १५ बाट सिधै ६ जना छानिने जानकारी पाएं । यो मेरोलागि कठिन प्रतिस्पर्धा थियो । मैंले आफुले जानेको र बुझेजती सबै प्रक्रिया अपनाएर अन्तिम प्रतिस्पर्धामा ग्रिल हामाचिकामा विथ दासी टोमाटो ब्रोथ तयार पारें । अन्तिम ६ का प्रतिस्पर्धीहरुलाई जापानमै बोलाएर खाना तयार पार्न लगाईने भएपनि कोरोना महामारीका कारण लाईभ भिडियो मार्फत सबै काम गर्नुपर्यो । खानामा मिसाईने एकएक मात्रा तथा प्रक्रिया सबै बताउँदै गरें । खाना चाखेर मिठो नमिठो स्वाद पाईने भएपनि जापानका उत्कृष्ठ सेफहरुलाई अनुगमन र परीक्षा गरेको यो प्रतिस्पर्धामा उहाँहरुले सजिलै खानाको स्वाद भन्न सक्नुहुन्थ्यो । मैंले तयार पारेको खाना प्रस्तुत गरेपछि उहाँहरुले धन्यवाद दिनुभयो । तत्काल रिजल्ट भने थाहा नहुने रहेछ ।

अन्य प्रतिस्पर्धीहरुले बनाएको खाना, प्रक्रिया, मिसाईएको मात्रा, पकाउने तथा सजाउने तरीका सहित, राख्ने भाँडो सजावट र सेफको प्रस्तुती समेतलाई हेरेर रिजल्ट तयार पारिएको रहेछ । डिसेम्बर २१ तारिखमा रिजल्ट भएपछि खवर पाएं । म उत्कृष्ठ ६ जना सेफ भित्र पर्न सफल भएछु । यो प्रतिस्पर्धामा कोरोना महामारीका कारण अन्तिम बिजयी भन्ने नभईकन उत्कृष्ठ ६ मा सिमित गरियो । सायद अवस्था सामान्य भएको भए मैंले जापानमै गएर आफ्नो कला थप देखाउन पाउने थिएं होला । तर म उत्कृष्ठ सेफ बन्न सफल भएपछि जापानी सेफहरुले बधाई सहित मलाई निरन्तर सल्लाह र सहयोग गरिरहनु भएको छ ।

No description available.

मैंले प्रतिस्पर्धामा पाएको सर्टिफिकेट सहित जापानी चक्कु लगायत केही सामान उपहारमा पाएको छु । प्रतिस्पर्धा उत्कृष्ठ सेफ छनौट जजहरुमा ओसाकाको चर्चित काशिवायाका सेफ तथा संचालक हिदेआकी माचुओ, ताईवा गाकुईन एडुकेशन ईनकर्पोरेटेडका निर्देशक तथा क्योदो कुलिनरी आर्ट कलेजका अध्यक्ष मासाहिरो नाताका र किनोबु रेष्टुरेण्ट क्योतोका प्रमुख ताकुजी ताकाहासी रहनुभएको थियो । रोचक के भने म प्रतिस्पर्धा सुरुहुँदा युएईमा थिएं । फाईनल हुने बेलामा माल्दिभ्स आईसकेको थिएं ।

अहिले म माल्दिभ्सको पिनोल्हु रिसोर्टमा रेष्टुरेण्ट ईन्जार्जको रुपमा काम गरिरहेको छ । अवस्था सामान्य भएपछि जापान आउन आयोजकहरुले भनिरहनुभएको छ । सायद अवस्था सामान्य भयो भने मैंले खाना बनाउँदै गरेको देश घुमेर त्यहाँको वास्तविक खाना र देश चिन्ने मौका पाउनेछु । नेपाल मोरगं जिल्लादेखी काठमाडौं, मलेसिया, युएई हुँदै अहिले माल्दिभ्ससम्म सामान्य कामदारको रुपमा किचेनमा काम थालेको मैंले निरन्तर मेहनत र परीश्रमबाट पाएको यो सफलतापछि सबैबाट पाएको धन्यवाद मायाँले आफ्नो सानो कामबाट केहीभनेपनि नेपाली शिर उँचो राख्न राख्न सफल भएछुकी भन्ने लागेको छ ।

अहिलेसम्म कोहीपनि नेपालीले प्रतिस्पर्धा नगरेको, हाम्रो भन्दा भिन्न खाना र पहिचान बोकेको बिकसित देशको खाना बनाउने प्रतिस्पर्धामा नेपाली भएर उत्कृष्ठ सेफमा छनौट हुन पाएकोमा मलाई पनि गर्व महशुस भएको छ ।

नेपालमा बालबालिका देखीनै सबैलाई डाक्टर, ईन्जिनियर, पाईलट बन्नुपर्ने मात्र दिमागमा घुसाईन्छ । तर त्यस्तो होईन आफुले जीवनमा सफलता पाउन जुनसुकै पेशामा लागेपनि निरन्तर मेहनत गर्नुपर्छ । आफ्नो सफलतासँगै देशको नाम चिनाउन होटल, रेष्टुरेण्ट क्षेत्रमा लागेकाहरुले पनि सक्छन् भन्ने उत्कृष्ठ उदाहरण पछिल्लो पटक सेफ सन्तोस साहले बेलायतबाट दिईसक्नुभएको छ ।

त्यसैले म नयाँ युवा पुस्ताहरुलाई यो खाना पकाउने काम, भान्छे भन्ने भनेजस्तो नेपालमा पहिले हेरिने दृष्टिकोणपनि फेरिइसकेको छ । अध्ययनसँगै आफ्नो क्षमता अनुसार रोजगारीपनि सहज पाईने यो क्षेत्रमा भविष्यपनि उज्वल छ ।

त्यसैले नेपाली युवाहरुलाई ईच्छा छ मनमा भने यो क्षेत्रमा मेहनतका साथ आउन र नेपाली खाना विश्वभर चिनाउन लाग्न समेत अनुरोध गर्दछु ।

Please follow and like us: