नेप्लिज ब्रिटिस कम्युनिटी द्वारा मानसिक स्वास्थ्य हेरचाह र चेतनाबारे अन्तर्क्रिया सम्पन्न

लन्डन ( जीएनएन ) ,

बेलायतमा रहेका नेपालीहरुको संस्था नेप्लिज ब्रिटिस कम्युनिटी युकेले विज्ञहरुको सहभागितामा मानसिक स्वास्थ्य चेतना तथा जानकारी सम्बन्धि अन्तर्क्रिया सम्पन्न गरेको छ ।

“कोरोना महामारीमा मानसिक स्वास्थ्य हेरचाह र चेतना” विषयमा आयोजित अनलाईन छलफल कार्यक्रममा विभिन्न देशमा कार्यरत चार जना नेपाली मानसिक रोग विज्ञहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जापान निवासी मनोचिकित्सक डा. विजय ज्ञवालीले आत्महत्या रोकथाम, कोरोना कहर र मानसिक स्वास्थ्य सम्बन्धमा एक प्रस्तुती दिएका थिए । डा. ज्ञवालीले कोरोना कहरका बेला बालबालिकाहरु घरमा नै सुरक्षित हुनु पर्ने तर घरमा नै मानसिक समस्या भोगिरहेको बताए । बाबुआमा दिनभर टिभी, फोन वा घरधन्दामा व्यस्त रहने अनि बालबालिकाको पनि स्क्रिन टाइम बढेको बताए ।

गलत सूचना र लामो समय टिभी हेर्नाले पनि मानसिक समस्या बढेको उनको राय थियो । परिवारमा एक अर्काको भावना बुझ्ने , कदर गर्ने कामले धेरै समस्या समाधान हुने उनको सुझाव थियो । मानसिक स्वास्थ्य र हेरचाहसँग सम्वन्धि विषयमा मानसिक रोग विज्ञ डा. मनोरमा भट्टराईले बृद्धबृद्धाहरुमा कोरोना संगै बढेका समस्याहरु र त्यसको समाधानको बारे जानकारी दिएकी थिइन् ।

वृद्धहरुको उमेर संगै बढ्ने अन्य रोगले गर्दा जोखिम र मानसिक समस्या बढ्ने गरेको भन्दै उनले योग, ध्यान, सकारात्मक सोच र व्यायामले धेरै समस्या कमगर्न सकिने जानकारी दिइन् । डा. देउमान गुरुंगले मानसिक समस्याका बारेमा भएको अन्धबिस्वासलाई हटाएर यसलाई अन्य शारीरिक समस्या जस्तै लिएर उपचार गर्न जरुरि रहेको बताए । गुरुङले मानसिक समस्याका कारकहरुमा आर्थिक, सामाजिक, शारीरिक, मानसिक र भावनात्मक रहने गरेको भन्दै ति समस्या हरु व्यक्ति पिच्छे फरक हुने भएकाले फरक तरिकाले उपचार गर्नुपर्ने बताए ।

मानसिक स्वास्थ्य सम्बन्धि अर्का विज्ञ डा. प्रेम राईले मानसिक समस्या र मानसिक स्वास्थ्य फरक विषय रहेको प्रस्ट पारे । नेपाली समाजमा मानसिक समस्यालाई कमजोरीको रुपमा हेरिने गलत संस्कार रहेको र त्यसलाई चिर्न जनचेतना आवश्यक रहेको उनले बताए । राईले रक्सि , चुरोट सेवनले मानसिक समस्या झन् बढाउने भन्दै तनाव घटाउन यस्ता वस्तु सेवन गरेर गलत अभ्यास नगर्न अनुरोध गरे । उनले मानसिक समस्याका प्रकार र अन्ध विश्वासका बारे पनि प्रस्ट पारेका थिए । डा. राईले सहभागीहरुका थुप्रै जिज्ञाहरुको जवाफ पनि दिए ।

 

सामुदायिक हितका लागि जनचेतना तथा जानकारीमूलक अभियान प्रेरणा युकेसँगको सहकार्यमा भएको कार्यक्रमको जापानसमाचारको फेसबुक पेज सहित करिव एक दर्जन अनलाईनहरुले विश्वभर प्रत्यक्ष प्रसारण गरेका थिए । कार्यक्रमको संयोजन तथा संचालन डा. जगन कार्कीले गरेका थिए भने नेप्लिज ब्रिटिस कम्युनिटी युकेका संयोजक राज ओझाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नेप्लिज ब्रिटिस कम्युनिटी युकेका चुरामणि रेग्मी तथा रबिन्द्र अधिकारीले सहभागीहरुका प्रश्न लिनुका साथै प्राविधिक रुपमा संयोजन गरेका थिए ।

आयोजक संस्थाका संस्थापक संयोजक कमल पौडेलले सहभागी, विज्ञ लगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

Please follow and like us: