लन्डन (जीएनएन) ,सोमबार
संयुक्त राज्य अमेरिकामा कार्यरत एकजना जनस्वास्थ्यविद् डा. दिनेश न्यौपानेले खोपले मात्र कोरोनाको संक्रमणलाई निर्मूल पार्न नसकिने भएकाले जनस्वास्थ्यका मापदण्डहरु पनि संगसंगै लैजानु पर्ने जनाएका छन् ।
ग्लोबल नेप्लिज न्युज नेटवर्कसंग कुरा गर्दै संयुक्त राज्य अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्को रुपमा कार्यरत डा. न्यौपानेले खोप लगाउने बित्तिकै सबैजना सुरक्षित हुने ग्यारेन्टी नभएको बताए । “साथै खोप लगाउने ब्यक्ति सुरक्षित भएपनि विभिन्न माध्यमबाट अरुलाई सार्ने सम्भावना जीवित नै रहन्छ। खोपले कहिलेसम्म रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता विकास गर्दछ भन्ने पनि अध्ययनकै बिषय छ। त्यसैले खोप आए पनि वा खोप लगाएपनि मास्क लगाउने, साबुन पानीले मिची मिची हात धुने तथा सामाजिक दूरी कायम गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नु पर्छ,” उनले भने। नर्वेमा खोप लगाए लगत्तै केहि वृद्धहरुको निधन भएको भन्ने खबरहरुबारे टिप्पणी गर्दै डा. न्यौपानेले भने, ” नर्वेमा लगाएको खोप फाइजर र बियोनटेकले संयुक्त रुपमा उत्पादन गरेको खोप हो। यो खोप उत्पादन गर्दा ८५ बर्ष सम्मका व्यक्तिहरुमा लगाउदा प्रभावकारी र सुरक्षित हुन्छ कि हुदैन भनेर अध्ययन गरिएको थियो।
खोपको अध्ययनको चरणमा सबै उमेर समूहमा प्रभावकारी भएको र अरु कुनै पनि जोखिम देखिएको थिएन । त्यसैको आधारमा युरोप, अमेरिका लगायतले त्यो खोपको लागि प्रयोगको अनुमति दिएका थिए। नर्वेमा बृद्धहरुले उक्त खोप लगाए पछि मृत्यु हुनु पक्का पनि हामि सबैको चासोको विषय हो। तर पनि अहिले नै उक्त खोपले नकारात्मक असर गर्छ भनेर निस्कर्षमा पुग्ने बेला भएको छैन। स्वयं नर्वे आफैले खोप कार्यक्रमलाई निरन्तरता दिई राखेको छ। पहिलो कुरा त खोप लगाउँदा लक्षणहरु देखिन्छन् नै। तर ति लक्षणहरु सामान्य हुन्छन् र केहि दिनमा हराएर जान्छन्। तर अन्तिम अवस्थाका वा उमेर धेरै भएका बृद्धहरुमा त्यस्ता सामान्य लक्षणहरु पनि मृत्युको कारण हुन सक्छन्। दोस्रो कुरा खास खोपकै कारणले हो कि अरु कारणले ति वृद्धहरुको मृत्यु भएको हो भनेर विस्तत अध्ययन जरुरि हुन्छ र त्यसपछि मात्र यो बारेमा केहि भन्न सकिन्छ। खोपहरु विभिन्न चरणको अध्ययनमा सफल भए पछि मात्र बजारमा आउँछन्।
यसैले अहिले बजारमा आएका खास गरि अमेरिकाको एफडिए र युरोपको इएमएले अनुमति दिएका खोपहरु सुरक्षित नै देखिएका छन्।” पश्चिमाहरुका मुख्य चाडहरु थ्यांक्स गिभिंग, क्रिसमस र नयाँ वर्षले पनि मानिसहरुको आवातजावत बाक्लिएको कारणले पनि संक्रमणको दर फैलिन मलजल गरेको जनाए । अमेरिकामा भने ट्रम्प सरकारको कोरोनालाई हेर्ने दृष्टिकोण शुरुदेखिनै जनस्वास्थ्यको नजरमा विवादास्पद र कमजोर रह्यो। पटक पटक भएका आमसभा, जुलुश र प्रदर्शनले संक्रमणको दर फैलाउन मद्दत गरिराख्यो।
मानिसहरु खोप आयो भनेर उत्साहित हुँदै जनस्वास्थ्यका मापदण्डहरु खुकुलो बनाउनुले धेरै ठाउँमा संक्रमणको दर बढेको हुन सक्दछ। तर, वास्तविकता के हो भने खोप त सीमित मात्रामा भर्खर मात्र लगाउन शुरु भएको छ। दोस्रो पटक खोप लगाउनेको संख्या ज्यादै न्यून छ। हालसम्म खोप पाउनेको संख्या पनि धेरै सानो छ। अधिकांश देशमा स्वास्थ्यकर्मीहरुलाई प्राथमिकतामा राखेर खोप दिइएको छ । त्यसैले खोपको प्रभाव सतहमा देखिन केही समय कुर्नु नै पर्दछ। अर्को कुरा खोपले मात्र कोरोनाको संक्रमणलाइ निर्मुल पार्न सकिँदैन।
खोप संगसंगै जनस्वास्थ्यको मापदण्डहरुलाई पनि लैजानु जरुरी हुन्छ,” डा. न्यौपानेले भने।
‘जाडोको मौसम कोरोना भाइरसलाई अनुकूल’ जाडोको मौसम कोरोना भाइरसलाई अनुकूल भएको पनि उनले बताए।
कोरोना संक्रमण कहिले घटे जस्तो त कहिले बढे जस्तो देखिरहन सक्ने बताउंदै डा. न्यौपानेले भने, “त्यसैले घटेकै भए पनि रोकथामका मापदण्डहरुलाई निरन्तरता दिन सकिएन भने संक्रमितहरुको संख्या जुनसुकै बेला पनि ह्वात्तै बढ्न सक्छ। उदाहरणको लागि लामो समय संक्रमणलाई नियन्त्रणमा लिन सकेका थाइल्याण्ड र जापानमा अहिले संक्रमण बढ्दो क्रममा छ।
बेलायतमा पनि केही समय संक्रमितहरुको संख्या घट्दै जाँदा अब त नियन्त्रणमा आउंछ कि भन्ने धेरैलाई लागेको थियो। तर, त्यस्तो हुन सकेन,“ उनले भने। डा. न्यौपानेले नेपालमा परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा पनि समस्या देखिएको उनले टिप्पणी गरे । ‘स्वास्थ्य मन्त्रालयले जनवरी ४ मा जारी गरेको रिपोर्टमा ३४ वटा प्रयोगशालाले शून्य परीक्षण गरेको तथ्यांक प्रस्तुत गरिएको छ। कन्ट्याक ट्रेसिंग हुनै सकेन भन्दा पनि हुन्छ।
अधिकांश टेस्टहरु अहिले पनि काठमाण्डौ उपत्यकामा मात्र भएको छ। संक्रमितहरु कता छन् भनेर खोज्दै जानुको सट्टा जो टेस्टको लागि इच्छुक छ उसको मात्र टेस्ट हुनाले पनि संक्रमितहरु पत्ता लगाउन नसकिएको पनि हुन्छ।’ उनका अनुसार, तेस्रो मुलुकबाट नेपाल छिर्नेलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएकोले नेपालमा आयातित संक्रमणको संख्या घट्दो क्रममा नै रहेको छ ।
नेपालमा पछिल्लो समय देखिएको राजनीतिक गतिविधिले कोरोना फैलाउन सहयोग पु-याइरहेको उनको ठम्याइ छ । ‘यो विषम परिस्थितिमा सरकार र राजनीतिक पार्टीका शिर्ष नेतृत्वबाट नै जुलुस र सभाहरुको आब्हान हुनु अस्वाभाविक छ।
’ चाडपर्व र उत्सवका कारण यूरोप र अमेरिकामा पुनः कोरोना फैलिएको घटनाबाट नेपालले पाठ सिक्नुपर्ने उनको सुझाब छ । यदि समयमै ख्याल गरिएन भने कडा लकडाउनको सामना गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ उनले सचेत गराएका छन् ।