कथा :शेरसिंह

आर सौर्य, गैंडाकोट

मध्य पश्चिम नेपालको कुनै एक ठाउँमा, वरिपरि विशाल पहाडले घेरिएको अनकन्टार जंगलको बिचमा एक समथर उपत्यका थियो र उक्त उपत्यका भित्र सानो गाउँ थियो। गाउँको एक छेउमा नदी र अर्को पट्टि पहाडले गाउँलाई काखमा राखेको भान हुन्थ्यो। यही मनोरम प्राकृतिक सुन्दरताले गर्दा होला सायद गाउँको नाउँ सुन्दरबस्ति रहेको थियो।
एक दिनको कुरा हो। सुन्दरबस्तिमा एकै घरका दिदी र बहिनी दुई युवतीहरु गायब भए। गाउँमा खोजी कार्य भयो। उनीहरु कता गए केही अत्तो पत्तो लागेन। गाउँमा कहिलेकाहीं देखा पर्ने एक भिखारीले उनीहरुलाई एउटा अजङ(बडेमान)को मान्छेले दुवै तिर काखमा राखेर जंगल तिर लगेको बतायो। त्यतिखेर त्यो भिखारीको कुरा कसैले पनि पत्याएनन्। त्यसपछि गाउँमा बेला बेलामा कसैको कुखुरा, कसैको खसीबाख्रा हराउन थाल्यो।
रातको समयमा कोही अँध्यारोमा हिंडे भने सब भन्दा पहिला “शेरसिंह” भन्ने आवाज आउँथ्यो अनि उनीहरुलाई पछाडिबाट आक्रमण हुन्थ्यो। उनीहरू बेहोश हुन्थे। आक्रमणकारी को थियो कसैले देख्न पाउँदैनथे।
दिउँसोको समयमा कोही एक्लै जंगल तिर घास दाउरा गर्न गए भने समेत हत्या हुन् थाल्यो। रातको समयमा कसैका चेलीबेटी बाहिर एक्लै पिढीमा सुते भने पनि बलत्कृत हुन थाले। गाउँबाट बाहिर निस्कन पर्यो भने आइमाई केटाकेटीहरु त्राहिमाम हुन्थे। लोग्नमान्छेहरु पनि ५/७ जनाको हुल बाधेर हिड्नु पर्ने अवस्था थियो। हुँदा हुँदा गाउँमा हुनेखानेहरु संग चन्दाको लागि शेरसिंह को नामबाट चिठ्ठी आउन थाल्यो। भने मुताबिक पैसा नदिएमा उसको घरमा रातको समयमा कुनै उपद्रो मच्चिने गर्दथ्यो। कुनैपनि समयमा गाउँमा कहीं, कतै शेरसिंह आउँदै छ कि भन्ने सधैं सन्त्रास हुन्थ्यो तर अझ सम्म उसलाई भेटेको मान्छे कोही थिएन।
सबैले उसको बारेमा विभिन्न अड्कलबाजी गर्थे। कसैले भन्थे शेरसिंह एकदम बलियो, अग्लो, मोटो र बडो फुर्तिलो छ। कसैले भन्थे शेरसिंह १०/१५ हात माथि हावामा उड्न सक्छ। कसैले भन्थे शेरसिंह २०/२५ जनालाई सजिलै पछार्न सक्छ। कसैले भन्थे शेरसिंह भनेको भूतप्रेत अथवा राक्षेस हो। कसैले भन्थे शेरसिंह भनेको डाकुहरुको सरदार हो। उ संग एउटा यस्तो दूरबिन छ, जसको सहायताले माथि पहाडबाट उसले दिउँसो गाउँको हरेक गतिविधि नियाल्छ र बेलुका लुट्न आउँछ आदि.. आदि..। जे होस गाउँका सबै मान्छे उ संग भयभीत थिए।
एकदिन गाउँका सबै जना जम्मा भएर शेरसिंहलाई पक्रन प्रहरी कहाँ निवेदन दिने सल्लाह गरे। निवेदन मुताबिक ४०/५० प्रहरीहरु गोली गठ्ठा सहित आएर जंगलमा सर्च गरे। अन्ततः प्रहरीले एक सुकेनास रोग लागेको जस्तो दुब्लो पातलो(मरनच्यासे), कालो, ख्याउटे, पुड्को मान्छे फेला पारे अनि उसको नाम सोधियो। उसले आफ्नो नाम शेरसिंह भएको बतायो।
जब प्रहरीले शेरसिंहलाई पक्रेर गाउँमा लिएर आए। सबै गाउँले दङ्ग परे। शेरसिंह भनेको त गाउँमा बेला-बेलामा देखा पर्ने एक भिखारी पो रहेछ।
समाप्त

Please follow and like us: