१८ दलले चितवन-२ उपनिर्वाचनका लागि दर्ता

नयाँ कुरा ,मंगलबार,

२८ फेब्रुअरी, चितवन ,

वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा  हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १८ वटा राजनीतिक दलले दर्ता गरेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार फागुन १० गतेदेखि फागुन १६ गतेसम्म निर्वाचन आयोगमा १८ वटा राजनीतिक दलले दर्ता गरेका छन् ।

निर्वाचन प्रयोजनका लागि नेपाल मजदुर किसान पार्टीदेखि जय जन्मभूमि पार्टीसम्म रहेका छन् । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका मिति तय गरेको थियो ।

राष्ट्रिय मान्यता पाएका ७ दलमध्ये चितवन-२ को उपनिर्वाचनको प्रयोजनका लागि भने एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र दल दर्ता गरेका छन् । जनता समाजवादी पार्टी र जनमत पार्टीले भने दल दर्ता गरेका छैनन् । त्यस्तै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि उपनिर्वाचनका लागि दल दर्ता गरेको छैन । नागरिक उन्मुक्ति पार्टीले भने उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको आयोगले जनाएका छन् ।

प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तय भएको छ । उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यातालिकासमेत सार्वजनिक गरिसकेको छ । आगामी चैत २० गतेलाई मनोनयनको कार्यतालिका सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ । यस्तै चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

यी हुन् उपनिर्वाचनका लागि दर्ता भएका दलहरू

  • नेपाल मजदुर किसान पार्टी
  • मंगोल नेसनल अर्गनाइजेसन
  • राष्ट्रिय नागरिक पार्टी
  • नेपाली कांग्रेस
  • राष्ट्रिय जनमुक्ति पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • नेकपा एमाले
  • नेकपा माओवादी केन्द्र
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • नेकपा माओवादी समाजवादी
  • नागरिक उन्मुक्ति पार्टी
  • हाम्रो नेपाली पार्टी
  • पुनर्जागरण पार्टी नेपाल
  • मौलिक जरोकिलो पार्टी
  • राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
  • नेपाली कांग्रेस(बी.पी.)
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • जय जन्मभूमि पार्टी नेपाल

 

Please follow and like us: