देश विकास र निर्माणमा सहयोग गर्न प्रधानमन्त्री देउवाले गरे गैरआवासीय नेपालीहरुलाई आग्रह

नयाँ कुरा,आईतबार ,काठमाडौं ,

एनआरएनएको प्रतिबद्धता, समृद्ध राष्ट्र निर्माणमा एकता’ भन्ने नाराका साथ गैर आवासीय नेपाली संघ (एनआरएनए) को ललितपुरमा सम्पन्न दशौं विश्व सम्मेलनको समापन भएको छ ।

सम्मेलनले तीनजना अध्यक्षले पालैपालो कार्यभार सम्हाल्ने गरी बहुपदीय प्रणाली घोषणा गरेको छ । पहिलो कार्यकालमा कुल आचार्य, दोस्रो रबिना थापा र त्यस पछि बद्री केसीले पालैपालो गर्नेगरी नयाँ नेतृत्व चयन भएको छ ।

समापन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको पहिचान, गरिमा बढाउनुको साथै पेशा, व्यवसायमा संलग्न रही देश विकास निर्माणमा सहयोग पुराउन गैरआवासीय नेपालीहरुलाई आग्रह गरे ।

एनआरएनएको दशौं विश्व सम्मेलन समापन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली नागरिकता ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

उनले विदेशमा सिकेको ज्ञान, सिप, प्रविधि र पूँजीलाई राष्ट्रिय विकासमा सहयोग गर्न आग्रह गरे । सरकारले सहजिकरण गर्दै सहज रुपमा लगानी गर्नसक्ने र प्रतिफल दिनसक्ने वातावरण निर्माण गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

विश्वभर छरिएर बसेका नेपालीहरुको असंगठित पूँजी र ज्ञानलाई एकीकृत गरी मुलुकको आर्थिक विकासमा प्रयोग गर्न उनले आग्रह गरे । प्रधानमन्त्री देउवाले भने ‘२०७२ सालको भूकम्पको बेला उद्धार तथा राहतमा सहयोगको सह्राहना गर्दछु ।’ त्यसैगरी लाप्राक लगायतका ठाउँमा सुरक्षित आवास निर्माणमा एनआरएनएले गरेको सहयोगको प्रशंसा गरे ।

कोभिड १९ को बेला पिसिआर किट, अक्सिजन सिलिण्डर दिएर नेपालीको जीवन बचाउन सहयोग गरेको बताए । ‘पार्कदेखि लिएर अक्सिजन प्लान्ट निर्माणमा महत्वपूर्ण सहयोग भएको छ । नेपाल र नेपालीको अप्ठेरो परेको बखत समन्वयप्रति सरकारले धन्यवाद ज्ञापन गर्छ’, प्रधानमन्त्री देउवाले भने, ‘नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति हस्तान्तरण गर्न सेतुको रुपमा काम गरेको छ । यसलाई आगामी दिनमा पनि नेपाली भूमि र संस्कृतिलाई विदेशमा प्रबद्र्धन गर्न सहयोग पुराउन आग्रह गरिएको छ ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पैसा र बुद्धि बोकेर नेपालमा आएर नयाँ काममा लगानी गर्न सुझाव दिए । उनले देश निर्माण गर्ने उद्देश्य राखेर अघि बढ्न आग्रह पनि गरे । त्यसैगरी कार्यक्रममा संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले राजनीतिक दलहरु धेरै ठूलो झगडा गर्न पोख्त भएको बताए ।

हामी झगडा गरे पनि एनआरएनएका नागरिकताका कुरा, एक ढिक्का बनाउनुपर्छ भन्नेमा हामी एक ठाउँमा उभिन्छौं’, उनले भने, ‘हाम्रा आ–आफ्नै पार्टी छन् । तर, हाम्रो एउटै थलोमा उभिने ठाउँ त्यो एनआरएन हो ।’ संघीय कानुन बमोजिम, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार पाउनेगरी गैर आवासीय नेपालीलाई नागरिकता सम्बन्धी नेपालको संविधानले महत्वपूर्ण र विशेष व्यवस्था गरेको नेम्वाङले बताए । पूर्व अध्यक्ष जीवा लामिछानेले संगठनमा केही विसंगतिको अन्त्य भएको बताए ।

नेपालका प्रमुख राजनीतिक दल, वर्तमान सरकारले एकजुट हुन आग्रह गरेको सदासयताका लागि उनले धन्यवाद ज्ञापन गरे । उनले एकता नै शक्ति भएको भन्दै मनमुटाव बिर्सेर कर्मभूमिमा फर्केर बाँकी कामलाई पूरा गर्ने बताए ।

महाधिवेशनले २०२१-२३ कार्यकालका लागि कुल आचार्य, रबिना थापा र डा बद्री केसीले क्रमैसंग नेतृत्व गर्ने गरी सहमति गरेको छ।

Please follow and like us: