काठमाडौं (जीएनएन)
नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् ।
उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेको हो । प्रहरीले बिहीबार दिउँसो उनलाई शंखमूलस्थित निवासबाट राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ गरेको थियो । यस अघि नेकपाको प्रचण्ड-माधव समूहसंग आबद्ध युवा, विद्यार्थीहरुले नेतृ झाँक्रीको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।
नेकपा प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै झाँक्रीलाई निशर्त र अविलम्ब रिहा गर्न माग गरेका थिए । श्रेष्ठले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको भनिएको छ ।
त्यस्तै नेपाली कांग्रेसले राज्यविरुद्धको कसूरको आरोपमा पक्राउ परेकी नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको थियो ।
बिहीबार प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी, उनकै शब्दमा, प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई आग्रह गरेका थिए ।
उनले संयमपूर्वक समाधान पहिल्याउन र नेतृ रामकुमारी झांक्रीलाई अविलम्ब रिहा गर्न पनि माग गरेका थिए । बन्दी प्रत्यक्षीकरण रिट दर्ता बिहीबार नै नेतृ झाँक्रीलाई गरिएको पक्राउ विरूद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको थियो ।
झाँक्रीका तर्फबाट अधिवक्ता गुणराज आचार्यद्वारा दायर रिट निवेदनमा गैरकानूनी रूपमा झाँक्रीलाई पक्राउ गरिएको भन्दै उनको तत्काल रिहाइको माग गरिएको छ ।
रिहा भए पछि बोल्दै नेतृ झाँक्रीले संवैधानिक राष्ट्रपति संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको तर उक्त पदमा रहेका व्यक्तिको क्रियाकलापको आलोचना गरेकोमा आफुलाई कुनै पश्चात्ताप न भएको बताइन् ।