राप्तीको नयाँ वस्तीमा नौमती बाजा

जीएनएन, दाङ ,

 

कला सस्कृतिको रक्षा गर्दै परम्परागत बाजाहरुलाई नयाँ पुस्तामा पुर्याउन दाङको राप्ती गाउँपालिका वडा नं ३ नयाँबस्तीमा नौमती बाजा हस्तान्तरण गरिएको छ ।

वडा कार्यालयको वार्षिक बजेट अनुसार वडा नं ३ नयाँबस्तीमा एक समूह गठन गरी नौमती बाजा हस्तान्तरण गरिएको हो । मंगलवार आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नयाँबस्ती पन्चेबाजा ब्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गरे ।

दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजाको सेट नयाँबस्ती पन्चेबाजा ब्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गरिएको वडा नं ३ का वडा सचिव दामोदर पोख्रेलले जानकारी दिए ।

वडा अध्यक्ष चन्दर चौधरीको अध्यक्षतामा भएको नौमती बाजा हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, ईन्जिनियर अशोक बेल्वासे लगायतको सहभागिता रहेको थियो ।

नौमती बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो । यो पञ्चेबाजाको विस्तारित रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ । यस अन्तरगत सहनाई र दमाहाका दुई दुई वटा हुन्छन् । सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ ।

नौ जना वाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्य समूहलाई नौमती बाजा भनिएको हो । पछिल्लो समय नौमती बाजा लोप हुँदै गइरहेको अवस्थामा नौमती बजा संरक्षणका लागि अभियान नै सुरु गरिएको छ ।

Please follow and like us: