एनआरएनएमा रुपान्तरणका लागि एनसीसी र सदस्यतहमा ब्यापक छलफल गर्न सुझाव

बिपिन निरौला ,लण्डन, एनआरएनए अभियन्ता तथा एनसीसी अमेरिकाका पूर्व अध्यक्ष डा. केशब पौडेलले ‘एनआरएनए ट्रांस्फर्मेशन’ ( रुपान्तरण) सेसनमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै एनआरएनए जिम्मेवार,पारदर्शी र जवाफदेही हुनुपर्ने बताएका छन्। हाल आइसीसी ११ करोड रुपैया र एनसीसीहरु १८ करोड गरी जम्मा ३० करोड घाटामा रहेको अबस्थामा नि:शुल्क सदस्यताको विषयलाई गम्भीर भएर छलफल गरिनुपर्ने बताए।
नि:शुल्क सदस्यताको नाममा थोरै मान्छेले हजारौं हजार सदस्यहरु बनाएर दुरुपयोग गर्दै संस्था कब्जा गर्न सक्ने उनले आशंका ब्यक्त गरे। साथै डा. पौडेलले संस्था संचालन गर्न बजेटको अभाबमा संस्थानै धराशायी हुनसक्ने अवस्था आउन सक्ने सम्भाबना औंल्याए। हालको एमआइएस सिस्टम केंद्रिकृत होइन बिकेन्द्रिकृत हुनुपर्ने बताउंदै कतिपय एनसीसीको डेटा स्थानीय देशको कानुन अनुसार एनसीसीले नै राख्न पाउनुपर्नेमा जोड दिए। एनसीसीको डेटा आइसीसीले कन्ट्रोल गर्ने होइन, एनसीसीले नै कन्ट्रोल गर्न पाउनु पर्ने उनले बताए।
स्मार्ट एनआरएनको अवधारणा राम्रो भएको तर यो चुनावी प्रक्रियाको लागि मात्र हुन नहुने बताउंदै सम्पूर्ण सदस्यहरुले प्रयोग गर्न सक्ने गरी स्मार्ट हुनुपर्ने बताए। कुरा मात्र होइन काम पनि गरेर देखाउनु पर्ने बताउंदै नेतृत्व वर्गले उदाहरणीय काम गरेर देखाउनु पर्नेमा उनले जोड दिए।
एनआरएनएका सल्लाहकारद्वय पुष्पराज तिमिल्सिना र हरिबोल भण्डारीले डा. पौडेलको कार्यपत्र र भनाइप्रति समर्थन जनाउंदै बिदेशमा रहेका सम्पूर्ण परिवार र दोस्रो पुस्तालाई समेत एनआरएनएको सदस्यता लिन र कार्यक्रममा उपस्थित हुन सक्ने वातावरण बनाउन सक्ने गरी रुपान्तरण गरिनु पर्ने बताए।
एनआरएनएका निवर्तमान सचिवद्वय डीबी क्षेत्री (हालका प्रवक्ता) र जानकी गुरुङले बिशेष महाधिबेशनको नाममा आम एनआरएनको धारणा बिपरित चुनाबी प्रक्रियामा आफु जित्ने र संस्था कब्जा गर्ने कुरा हुन नहुने तर्फ सचेत गराए।
महासचिव डा. हेमराज शर्माले समेत डा. पौडेलका अवधारणाहरुप्रति सहमति जनाउंदै केही बिषयमा नीतिगत छलफल आवश्यक रहेको बताए। एनआरएनए उनले एनआरएनएमा सबै समस्याको जड चुनावी पक्रियामा रहेको बताउंदै उनले पैसा र शक्तिको आडमा संस्थामा विकृति भित्रिएकाले त्यो परिवर्तन गर्नुपर्ने बताए। गत आइसीसीको चुनावमा धाँधली भएको भन्दै वडाध्यक्षले समेत भोट हालेको उनले खुलासा गरे । एनआरएनमा नट, बोल्ट मात्र होइन पुरै इन्जिन नै परिवर्तन गर्नु पर्ने उनले बताए। तर इन्जिन परिवर्तन भनेको के हो भन्ने विषयमा भने शर्माले खुलाउन चाहेनन्।
एनआरएनए अध्यक्ष कुमार पन्तले डा. पौडेलको प्रस्तुतीमा उल्लेख भएझै संस्था र व्यक्ति भित्र कमी कमजोरी भएको स्वीकार गर्दै त्यसलाई सुधार्न रुपान्तरणमा जानु पर्ने बताए। हालको चुनावी प्रक्रियामा सुधार गर्दै अनलाइन चुनाव गर्नै पर्नेमा जोड दिंदै तर त्यसलाई विश्वसनीय र प्रभावकारी बनाउन थप छलफल आवश्यक रहेको उनले बताए। हाल कोभिड-१९ को महामारीमा स्वास्थ्य समितिका स्वास्थ्यकर्मीहरुले प्रशंसनीय कार्य गरि रहेको बताउंदै एनआरएनएले डाक्टर, इञ्जिनियरहरुको एशोशिएशनबाट काम गर्न सिक्नु पर्ने उनले बताए। त्यस्ता संघ संस्थाहरुबाट समानुपातिक प्रतिनिधित्व हुने गरि विधानमै परिवर्तन गर्नु पर्ने धारणा उनले ब्यक्त गरे।
उक्त कार्यपत्रमाथि छलफल गर्दै एनआरएन अभियन्ताहरुले एनआरएनएमा रुपान्तरण तथा परिवर्तन आवश्यक भएको बताउंदै तर यो आइसीसीले चुनावी प्रक्रियालाई मात्र हेरेर नभई दीर्घकालीन सोच बनाएर गर्नुपर्ने कुरामा जोड दिएका थिए। बिशेष महाधिबेशनका नाममा आइसीसीले एनसीसीहरुको अधिकार र विधान विपरित कुनै पनि निर्णय गर्न नहुने उनीहरुले बताए। उक्त सत्रले एनआरएनएमा रुपान्तरणका लागि आगामी एनसीसीहरुको वार्षिक साधारण सभा र अधिवेशनहरुबाट सुझाव संकलन गरेर मात्रै आइसीसीले निर्णय गर्नुपर्ने सुझाव दिएको छ।
एनआरएनएका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा र आइसीसी सदस्य गंगाधर गौतमले आफ्नो धारणा राखेका थिए भने कार्यक्रमको संचालन आइसीसी सदस्य गुणराज शर्माले गरेका थिए।

Please follow and like us: